सेना समायोजन विशेष समितिको बैठक भोली बस्ने

काठमाडौं, २१ कात्तिक आज बस्ने भनिएको सेना समायोजन विशेष समितिको बैठक भोलीका लागि सारिएको छ । प्रधानमन्त्री डा।बाबुराम भट्टराईको  कार्यव्यस्तताका कारण बैठक सारिएको प्रधानमन्त्रीका सहयोगी विश्वदिप पाण्डेले ओएनएसलाई बताए । 
आजका लागि तय भएको बैठकमा माओवादी लडाकुको समायोजन र पुनःस्थापना सम्बन्धि प्याकेजलाई अन्तिम रुप दिने बताइएको थियो । लडाकू रेखदेख, पुनःस्थापना तथा मंसिर ७ गते सम्मको कार्यतालिका र प्याकेजलाई भोली बसने बठकले अन्तिम रुप दिने समितिका सदस्य गोपालसिंह बोहराले जानकारी दिए ।  
 
बोहराका अनुसार नयाँ बानेश्वरस्थित समितिको सचिवालयको कार्यालयमा बस्ने बैठकमा सचिवालयले तयार पारेको लडाकु समायोजन, राहत तथा स्वच्छिक अवकाश प्याकेजका बारेमा छलफल हुनेछ । सचिवालयले तयार पारेको प्याकेज देशबाहिर रहेका विशेष समितिका सदस्यहरुलाई इमेल मार्फत पठाइएको र उनीहरुको प्रतिक्रियापछि स्वदेशमै रहेका समिति सदस्यहरुबीच बैठकमा छलफल हुने पनि उनले बताए । 
 
गएको मंलवार दलहरुबीच भएको सहमतिमा पुनःस्थापनामा जाने लडाकुहरुलाई शिक्षा, तालिम एवं व्यवसायिक अवसरहरुको प्याकेजको विकल्प उपलब्ध गराउने र त्यसको लागि ६ देखि ९ लाखसम्मको सहयोग गर्ने सहमति भएको थियो । त्यस्तै स्वैच्छिक अवकाशमा जानेहरुका लागि ५ देखि ८ लाख रुपैयाँ दिने पनि सहमति भएको थियो । दलहरुबीचको सहमतिअनुसार नै सचिवालयले पुनस्थापना र स्वच्छिक अवकाश प्याकेजको कार्ययोजना तयार पारेको सचिवालय सदस्य बोहराले बताए । समायोजनामा जाने माओबादी लडाकुहरुको अद्यावधिक गर्न तथा समूह बिभाजनाको लागि आवश्यक जनशक्ति छनौट भइसकेको पनि सचिवालयले जनाएको छ ।