तीन देशका लागि राजदूत सिफारिस

काठमाडौं, २२ कात्तिक सरकारले तीन देशमा राजदूत नियुक्तिका लागि नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले भारतका लागि सुरेन्द्रकुमार कार्की ९राम कार्की०, चीनका लागि डा। महेशकुमार मास्के र संयुक्त अरब इमिरेटस् ९यूएई०मा परराष्ट्र मन्त्रालयका सहसचिव धनञ्जय झालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले थाइल्यान्डका बाढीपीडित जनताका लागि टोकन सहयोगस्वरूप २५ हजार अमेरिकी डलर थाई सरकारलाई उपलब्ध गराउने निर्णय पनि गरेको भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए ।
नेपाल र भारतबीच दोहोरो कर प्रणालीका सन्दर्भमा सम्झौता गर्न यसअघिकै मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरिसकेकाले निकट भविष्यमै त्यो सम्झौतामा हस्ताक्षर गर्न बैठकले अनुमति प्रदान गरेको छ ।  सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन बोर्ड ऐन २०६८ र नेपाल स्वास्थ्य सेवा तेस्रो संशोधन नियमावली मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णय पनि गरेको छ । त्यसैगरी आपूर्ति नीति २०६८ मन्त्रिपरिषद्को आर्थिक समितिमा पठाउने निर्णय भएको छ ।
सरकारले झिटीगुन्टाको सन्दर्भमा १०० रुपैयाासम्मका मालसामानलाई भन्सार छुट र मिनाहा दिँदै आएकामा त्यसलाई बढाएर १ हजार पुर्‍याउने निर्णय गरेको जानकारी त्रिपाठीले दिए ।
बैठकले राष्ट्रपति आवासगृह निर्माण गर्न अवधारणा र प्रारूप तयारका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ ।