काठमाडौं, २९ कात्तिक एकीकृत नेकपा माओवादीमा सशस्त्र द्वन्द्वका समयमा देखिएको नीतिगत विवाद फेरि बल्झिएको छ । शान्ति प्रक्रियामा आएपछि केही फेरिएको लाइन छाडेर उपाध्यक्ष मोहन वैद्य किरण पुरानै धारमा फर्किएपछि पुरानै संघर्ष फेरि सुरु भएको छ ।
स्पष्ट विचारको संघर्ष अन्त्य गर्न केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा आज पनि पार्टी पदाधिकारीहरुले भनाई राख्नेक्रम जारी रहने केन्द्रीय सदस्य रामरिझन यादवले जानकारी दिए ।
हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले आफ्ना भनाई राखिसकेकाले आजदेखि प्रधानमन्त्री तथा पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईबाट धारण राख्नेक्रम सुरु हुने छ । स्रोतका अनुसार भट्टराईले विप्पा सम्झौता, माल्दिभ्स भ्रमण लगायतका विषयमा पार्टी केन्द्रीय समितिलाई जानकारी गराउने छन् । पछिल्लो मन्त्रिपरिषद् विस्तार गर्नुको बाध्यता र सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिने सिफारिसमा वैद्य पक्षले उठाएको प्रश्नको पनि जवाफ दिने प्रधानमन्त्रीले तयारी गरेका छन् ।
आजै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव रामबहादुर थापा बादल लगायतले पनि धारणा राख्ने माओवादीले जनाएको छ ।