शान्तिप्रक्रियाको छिट्टै टुंगो लाग्छः खनाल

२९ कात्तिक, धनकुटा । एमाले अध्यक्ष झलनाथ खनालले प्रमुख दलहरुबीच भएको सातबुँदे समतिअनुसार शान्तिप्रक्रिया छिट्टै टुंगोमा पुग्ने बताउनुभएको छ ।
धनकुटाको चुङमाङमा आज भएको शालीक अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष खनालले अब कसैले चाहेर पनि शान्ति र अग्रगमनको यात्रा रोक्न नसक्ने दाबी गर्नुभयो ।  हतियारको राजनीति गर्ने युगको अन्त्य भइसकेको भन्दै अध्यक्ष खनालले सातबुँदे सहमतिको पालनामा इमान्दार हुन माओवादीलाई आग्रह गर्नुभयो ।
शान्ति र संविधानको टुंगो लागेपछि संक्रमण काल अन्त्य हुने र त्यसपछि आर्थिक क्रान्तिको ढोका खुल्ने उहाँको विश्वास थियो । नेपाल गरिब नभएको चर्चा गर्दै अध्यक्ष खनालले मुलुकको समृद्धिका लागि जल, जङगल र जडीबुटीजस्ता प्राकृतिका स्रोत र साधनको भरपुर उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।