रियाद, ८ मंसिर यमनका राष्ट्रपति अलि अब्दुल्लाह सालेहले अन्ततः पद त्याग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । विगत दश महिनादेखि आफूविरुद्ध जारी आन्दोलनको सम्बोधन गर्दै राष्ट्रपति सालेहले वर्तमान उपराष्ट्रपतिलाई शक्ति हस्तान्तरण गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
छिमेकी मुलुक साउदी अरेवियाको राजधानी रियादमा भएको सम्झौताका अनुसार राष्ट्रपतिले चुनाव अघि नै राष्ट्रपतिको पद त्याग गर्नेछन् भने उनीविरुद्ध कुनै मुद्दा चलाइने छैन । यता, यमनमा भने उक्त सम्झौताको विरोध भएको छ । प्रदर्शनकारीहरुले राष्ट्रपतिलाई उन्मुक्ति दिने सम्झौताको विरोध गरेका छन् । उनीहरुले आन्दोलनमा हजारौंले ज्यान जाने गरी भएको कारबाहीको दोषीले उन्मुक्ति पाउने नहुने माग गरेका छन् ।