संविधानसभाको कार्यकाल थप गर्न संसदमा आज मतदान

काठमाडौं, ११ मंसिर संविधानसभाको कार्यकाल थप गर्नका लागि सरकारले संसदमा दर्ता गराएको अन्तरिम संविधान ११ औं संशोधन विधेयक पारित गर्न आज मतदान हुँदैछ । संविधानसभाको कार्यकाल सकिन तीनदिन अगावै कार्यकाल थप गर्न लागिएको हो ।
संसदको आज बस्ने बैठकमा अनिवार्य उपस्थितिका लागि दलहरुले हृविप जारी गरेका छन ।
संसदको बैठक अगावै प्रमुख तीनदल, एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बसी संविधानसभाको कार्यकाल बढाउने निर्णय गर्नेछन् ।
बिहान बस्ने प्रमुख दलको बैठकले संविधान लेखनको कार्यतालिका बनाउनेछ । राज्यपुनर्संरचना आयोगले दुई महिनामा काम सम्पन्न गर्दासम्म संविधानको मस्यौदका लेखनको काम अगाडि बढाइने नेताहरुले बताएका छन । यस अघि संविधानसभाको २०६७ जेठ १४ गते एक वर्ष तथा २०६८ जेठ १४ र भदौ १२ मा तीन तीन महिना कार्यकाल थप भएको थियो । पछिल्लो संशोधनसँगै दुइवर्षका लागि गठन गरिएको संविधानसभा चारवर्ष पुग्ने भएको छ । सर्वोच्च अदालतले समय सिमा तोकिदिएका कारण आगामी छ महिनामा संविधान निर्माणको वातावरण बन्ने अपेक्षा गरिएको छ । राज्यपुनर्संरचना र शासकीय स्वरुप बाहेक संविधानका अधिकांश विवादित विषय समाधान भइसकेका छन् ।