काठमाडौं, १४ मंसिर संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले भोलि बिहान बस्ने संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठकबाट संविधान निर्माणको नयाँ कार्यतालिका आउने जानकारी दिएका छन् ।
संविधानसभाको म्याद चौथो पटक ६ महिनाका लागि थपिएपछि ओएनएससँग कुरा गर्दै सभाध्यक्ष नेम्वाङले शान्ति प्रक्रियाको काम सुचारु ढंगले अगाडि बढिरहेकोले संविधान बन्ने सुनिश्चितता बढेको बताए । थपिएको छ महिनामा संविधान बन्ने आधार तयार भएको नेम्वाङले विश्वास व्यक्त गरे । संविधान निर्माणका लागि ६ महिना पर्याप्त भएकोले जेठ १४ पछिको अवस्थालाई लिएर विवाद गर्नुपर्ने कारण नभएको भन्दै नेम्वाङले सबै दल मिल्नुको विकल्प नभएको बताए ।
राज्यपुनर्संरचना आयोगले प्रतिवेदन तयार गर्दासम्म संविधानको बाँकी विवादित विषयमा सहमति जुटाइने बताउँदै नेम्वाङले शान्ति प्रक्रियाका कारण विगतमा संविधान निर्माण कार्यक्रमा अवरोध सृजना भएपनि आगामी दिनमा त्यस्तो अवस्था नआउने विश्वास व्यक्त गरे । संविधान निर्माणका लागि राज्यपुनर्संरचनाको विषय चुनौतिपूर्ण भएपनि आयोगले सबैलाई स्वीकार्य हुने प्रतिवेदन तयार गर्नेमा आफू विश्वस्त रहेको नेम्वाङले बताए ।