झापा, २६ मंसिर माले झापाले कार्यकर्तालाई पार्टीका सिद्धान्त, नीति तथा कार्यक्रम जान्न(बुझ्न प्रेरित गर्ने भन्दै परीक्षा नै सञ्चालन गरेको छ । झापा क्षेत्र नं २ अन्तर्गत ज्यामिरगढी, दुहागढी, हल्दीबारी, चारपाने, गरामनी र अनारमनी गाविसका ५० अगुवा कार्यकर्ताले बिर्तामोडमा राजनीतिक विषयमा लिखित परीक्षा दिएका हुन् ।
उनीहरुले विद्यार्थीले झैं १०० पूर्णांककको विषयगत र वस्तुगत प्रश्नको जवाफ लेखेका थिए । परीक्षा दिनेहरुमा पार्टीका गाउँ तथा नगर कमिटी अध्यक्ष र क्षेत्रीय कमिटीका सदस्य थिए ।
बिर्तामोडस्थित पार्टीको जिल्ला मुख्यालयमा व्यवस्थित ढंगले परीक्षा सञ्चालन गरिएको थियो । पार्टीद्वारा गठित रोमणी भट्टराई संयोजकत्वको परीक्षा सञ्चालन कमिटीले लिखित परीक्षा लिएको हो । ूएमालेका नीति, सिद्धान्त र कार्यक्रमबारे अध्ययन गर्न र कार्यकर्ता पंक्तिको राजनीतिक क्षमता बढाउन स्कुल विभागको पाठयक्रमअनुसार प्रश्नपत्र तयार गरी परीक्षा सञ्चालन गरिएको हो,ू भट्टराईले भने ।
उत्तरपुस्तिका जाँचेर त्यसको नतिजा सम्बन्धित व्यक्तिलाई छिट्टै दिइने जानकारी उनले दिए । पहिलोपटक यस्तो परीक्षा सञ्चालन गरिएको भन्दै भट्टराईले आगामी दिनमा गाउँ तथा वडास्तरमा समेत परीक्षा लिने योजना सुनाए ।
कम्युनिस्ट पार्टीको इतिहास, नेता, फुट र एकता, एमालेको सिद्धान्त र नीति तथा कार्यक्रमलगायतका विषयवस्तुमा केन्द्रित रहेर प्रश्नपत्र तयार गरिएको थियो ।



