बागलुङ – माओवादी प्रवक्ता तथा शिक्षामन्त्री दिननाथ शर्मा सहभागि कार्यक्रम बहिस्कार गरेका यहाँका बैद्यपक्षीय नेताहरुलाई आत्मालोचना गर्न संस्थापन पक्षले माग गरेको छ ।
मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला बागलुङ आएका शर्मा सहभागि कार्यक्रममा जिल्ला इन्चार्ज पारसमणी लगायतका बैद्यपक्षिय नेताले बहिस्कार गरेपछि राज्य कमिटिको बैठकले आत्मालोचना गराउने निर्णय गरेको हो । जिल्ला सहइन्चार्ज धनप्रसाद सापकोटाको अध्यक्षतामा बसेको राज्य कमिटिको बैठकको बहुमतले बहिस्कार गर्नुको कारण स्पष्ट पार्नसमेत आग्रह गरेको हो ।
मंसिर २२ गते शर्मा बागलुङ आएको समयमा पार्टी कार्यकर्ता भेटघाट तथा अन्य विकास निर्माणका बिषयमासमेत छलफल गर्ने कार्यक्रम तय भएको थियो । पोलिटव्युरो सदस्य लिलाबहादुर थापाको उपस्थितिमा बसेको बैठकले आगामी फागुन १ गते ‘जनयुद्ध’ दिवश मनाउने समेत निर्णय गरेको छ ।
उक्त कार्यक्रम बहिस्कार गरेपछि जिल्लामा दुइ पक्षविच मनमुटाव बढेको छ । ‘उहाँहरु नियोजितरुपमै बहिस्कार गरेर नआउनु भएको थाहा पाएपछि राज्य कमिटिले स्पष्टीकरणका लागि आत्मालोचनाकालागि माग गरेको हो’ राज्य कमिटि सदस्य कृष्ण केसीले भने, ‘पार्टीको बरिष्ठ नेताहरु आउँदा पक्ष विपक्ष नभनी स्वागत गर्ने भनिएपनि उहाँहरुले अपमान गर्नुभयो ।’
यस जिल्लामा माओवादीको नेतृत्वमा बैद्यपक्षको हावी छ । आफ्नो पक्षका नेता नआए अन्यले बहिस्कार गर्ने चलन केही समय अघिदेखि शुरु भएको हो । बैद्यपक्षले भने किन बहिस्कार गरेको भन्ने खुलाएको छैन । बैद्यपक्षका सेक्रेटरी टेकबहादुर केसी उक्त कार्यक्रममा एकपटक देखा परेर बाहिरिएका थिए भने अन्य नेताहरु उपस्थित नै भएका थिएनन् ।
केसीले अन्य महत्वपूर्ण काममा लागेकोले नेतृत्वका अन्य नेताहरु उपस्थित हुन नसकेको बताएका छन् ।



