कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ८८ औँ जन्मजयन्ती आज

नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ८८ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

 

जन्मजयन्तीको अवसर पारेर भट्टराई निवास ललितपुरको बाँडेगाउँमा सरकारले बनाइदिएको आश्रममा बिभिन्न कार्यक्रम गरिदैछ । उहाँका शुभचिन्तक, अनुयायी र कांग्रेस कार्यकर्ताले राजधानी लगायत मुलुकभरी बिभिन्न कार्यक्रम गरी स्मरण गर्दै छन् । कांग्रेसले संस्थापक नेता भट्टराईको जन्मजयन्ती उहाँको निधन भएको एक बर्ष नपुगेकाले औपचारिकरुपमा भने नमनाउने जनाएको छ ।

माओवादीसँग १२ बुँदे समझदारी गरेर कांग्रेसले राजतन्त्रको धार परिवर्तन गरी गणतन्त्रमा गएको भन्दै रुष्ट बनेका पूर्व प्रधानमन्त्री भट्टराईले जीवनको उत्तराद्र्धमा कांग्रेस परित्यागको घोषणा गर्नुभएको थियो ।२०४६ सालको आन्दोलनले पञ्चायती शासनको अन्त्य गरेपछिको पहिलो अन्तरिम सरकारको नेतृत्व गरेका भट्टराई निस्कलंक राजनेता मानिनुहुन्थ्यो । भट्टराईको जन्म विक्रम संवत १९८१ सालमा आजकै दिन भएको थियो । सन्त नेताको उपमा पाउनुभएका भट्टराईको ८७ वर्षको उमेरमा गत फागुन २० गते निधन भएको थियो ।