काठमाडौं, ११ पुस आजका लागि बोलाइएको एकीकृत माओवादी केन्द्रीय समितिको
बैठक भोलिसम्मको लागि स्थगित गरिएको छ । केन्द्रीय समितिको बैठकमा वरिष्ठ
उपाध्यक्ष मोहन वैद्य समूहले अध्यक्ष प्रचण्डको प्रतिवेदनको समानान्तर
धारणा पेस गर्ने तयारी गरेको थियो ।
स्रोतका अनुसार वैद्य समूहको आग्रहमा केन्द्रीय समितिको बैठक भोलिसम्मको लागि गरिएको छ । शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्षको प्रतिवेदनबारे लिखित जवाफ दिनको लागि वैद्य पक्षले दुई दिनको समय मागेपछि सोमबारसम्मका लागि बैठक स्थगित भएको थियो ।
यद्यपी आज डिसेम्वर २६ तारिखका दिन कम्युनिष्ट आन्दोलनका प्रवर्तक माओको जन्म दिन परेकाले बैठक सारिएको माओवादीले जनाएको छ । करिब डेढ महिनापछि शनिबार सुरु भएको केन्द्रीय समितिको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले तत्कालिन कार्ययोजना सहितको राजनीतिक प्रस्ताव पेस गरेका थिए । अध्यक्ष प्रचण्डले आफ्नो प्रस्तावमा पार्टीभित्र देखिएका सबै खालका अन्तरविरोधको छिनोफानो महाधिवेशनले नै गर्ने उल्लेख गर्दै शान्ति, संविधानलगायतका बिषयमा १० ओटा प्रस्ताव पेस गरेका थिए ।
माओवादी संस्थापन पक्षले शान्ति र संविधानको लागि सहमतीय सरकारमा जोड दिदै पार्टीभित्रको विवाद महाधिवेशनमा लगेर सल्टाउनेमा जोड दिएको छ भने वैद्य पक्षले पार्टी सिद्वान्तभन्दा बाहिर गएर संस्थापन पक्ष सहमति, सम्झौतातर्फ उन्मुख भएको आरोप लगाउँदै आएको छ ।



