काठमाडौं, १९ पुस प्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताको सेवकका रूपमा रहेको कर्मचारी प्रशासनले कसैको दबाबमा नआई जनताको पक्षमा सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्नपर्न निर्देशन दिएका छन् ।
आज विराटनगरमा भएको कार्यक्रममा निजामती, सुरक्षा निकाय, संस्थान तथा समितिका कार्यालय प्रमुखहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले कसैको अनुचित दबाबमा नपरी काम गर्न निर्देशन दिए ।
सरकारले शान्ति प्रक्रिया र संविधान लेखनको काम सँगसँगै आर्थिक एजेन्डालाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै प्रधानमन्त्री भट्टराईले सबै कर्मचारीले पछाडि परेको समुदायले पनि सेवा पुग्न हिसाबले काम गर्नुपर्ने बताए । कार्यक्रममा पूर्वाञ्चलका क्षेत्रीय, अञ्चल र जिल्लाका कर्मचारीहरूको उपस्थिति थियो ।
कर्मचारी जनताप्रति उत्तरदायी र जनमुखी नभएको गुनासो आइरहेकोले आफ्नो जिम्मेवारीमा खरो ढंगले उत्रन पनि प्रधानमन्त्रीले निर्देशन दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका क्षेत्रीय एवम् जिल्ला प्रमुख र प्रतिनिधिहरूको समेत सहभागिता रहेको छलफलमा शान्ति सुरक्षाको अवस्था मजबुत पार्न प्रधानमन्त्री भट्टराईले निर्देशन दिए ।



