व्यवस्थापिका संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलहरुले प्रधानमन्त्री डा. बावुराम भट्टराईले सरकार टिकाउने नाममा शान्ति प्रकृया अगाडि नबढाएको आरोप लगाएका छन् । बैठकको बिशेष समयमा बोल्दै नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले सेना समायोजनको काम अघि नबढेसम्म संविधान बन्न नसक्ने बताउनुभयो । शान्ति प्रकृयालाई अघि नबढाइए बन्दुकको छायाँमा कुनै पनि हालतमा संविधान बन्न नसक्ने भन्दै घिमिरेले प्रधानमन्त्रीले त्यस विषयमा जवाफ दिनुपर्ने माग गर्नुभयो । एमालेका रविन्द्र अधिकारीले लडाकुको वर्गिाकरण सकिईसक्दा पनि काम किन रोकिएको हो भन्दै सरकारबाट स्पष्ट जवाफ माग गर्नुभयो ।
यस्तै जनशक्ति पार्टीका डा प्रकाशचन्द्र लोहनीले माओवादीले यसअघि गरेको प्रतिबद्धता विपरित सेनामा रथी र राष्ट्रपतिमा बार्गेनिङ गरेको भन्दै आपत्ति जनाउनु भयो । संसद बैठकपछि आजै संविधान सभाको बैठक बसी संविधान लेखन सम्बन्धि कार्यतालिका संशोधन गर्ने कार्यक्रम रहेको छ ।



