शान्ति र संविधानका लागि सातबुँदे छ बुँदे र विशेष समिति मार्फत गरिएका सहमति कार्यान्वयन नभएको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले एकीकृत माओवादीप्रति संशंकित बनेका छन्।
शान्ति प्रक्रिया टुंग्याउन र संविधान लेख्न भन्दै रातदिन गरेर सातबुँदे सहमति गरेपछि दलहरु एक अर्काप्रति निकै सकारात्मक देखिएका थिए।
त्यसपछि गरिएका अरु पनि सहमति कार्यान्वयन नभएको औंल्याउँदै एमाले नेता भीम रावल भन्छन्,”गतिरोध नै उत्पन्न गरिरहनुभएको छ माओवादीहरुले। पहिले देखि नै सहमति गर्ने कार्यान्वयन नगर्ने पहिले देखिकै प्रवृत्तिकै पुनरावृत्ति हुनसक्छ।”
शान्ति प्रक्रिया र संविधान लेखनबारे झण्डै समान मत राख्दै आएका विपक्षी दलहरु कांग्रेस र एमाले उनीहरुकै भनाइमा माओवादीसँग गम्भीर कुराकानी गर्ने मनस्थितिमा छन्।



