काठमाडौं, २३ पुस राजधानीको खोला किनारमा बसेका सुकुम्बासीलाई हटाउने निर्णयको विरोधमा राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले उपत्यका बन्द सहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी माघ ३ गते उपत्यका बन्द सहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
घोषित आन्दोलनको कार्यक्रमहरुमा आगामी पुस २४ र २५ गते देशव्यापी जागरण अभियान गर्ने, २६ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउ र धर्ना, २७ गते रत्नपार्कमा विभिन्न दलका मुख्य नेताहरुको सहभागितामा विरोध सभा, २७ गते पत्रकार र नागरिक समाजसँग छलफल, २९ गते राजधानीको नयाँ बानेश्वरबाट थाल चम्चा जुलुस, ३० र माघ १ गते जनपरिचालनलगायतका छन् ।
पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष पद्म देवकोटाले वर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराई सुकुम्बासी विरोधी भएको आरोप लगाउँदै उनीसँग कुनै पनि हालतमा वार्ता नगर्ने चेतावनी दिए । मोर्चाका उपाध्यक्ष नारायण परिश्रमीले आफूहरुको आन्दोलनलाई सरकाले बेवास्ता गरे नेपाल बन्द सहित प्रत्येक सुकुम्बासी बस्तीमा आमरण अनसन थाल्ने चेतावनी दिए ।



