सरकार बाहिर रहेका १५ राजनीतिक दलहरुले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन माओवादी र सरकारलाई दवाव दिने

– रासस

 

काठमाडौं – सरकार बाहिर रहेका १५ राजनीतिक दलहरुले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन एकीकृत माओवादी र सरकारलाई दवाव दिने भएका छन्। आइतबार सिंहदरवारस्थित संवैधानिक समितिको हलमा भएको दलहरुको वैठकले विगतका सहमतिअनुसार माओवादी र सरकारले शान्ति प्रक्रियालाई अघि नवढाएको निष्कर्ष निकाल्दै दवाव दिने निर्णय गरेका हुन्।

 

‘शान्ति प्रक्रिया टुंग्याउन र संविधान लेख्नका लागि विगतमा भएका सहमतिलाई जसले उल्लंघन गर्छ, त्यसलाई पालना गराउनका लागि सबै एक ढिक्का भएर दवाव दिने सहमति भएको छ,’ वैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले भने। एमाले नेता सुरेन्द्र पाण्डेले पनि ‘शान्ति प्रक्रिया अघि वढाउन दवाव दिनुपर्छ भन्ने विषयमा दलहरु सहमत भएको’ जानकारी दिए। वैठकले दलहरुबीच भएको विगतका सहमति र समझदारी माओवादी र सरकारवाट उल्लंघन भएको ठहर गरेको छ।

शान्ति प्रक्रियाको कार्यन्वयनका क्रममा माओवादीले नयाँ समस्या ल्याएको भन्दै दलहरुले त्यसको सामना गर्न एकजुट हुनुपर्ने निर्णय गरेका हुन्। ‘शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने सवालमा देखा परेका चुनौतीहरुको सामना गर्न सबै दल एकजुट हुनुपर्छ भन्ने राय आएको छ,’ वैठकमा सहभागी एमाले अध्यक्ष झलनाथ खनालले भने। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि ‘विगतको सहमति अनुसार माओवादीले शान्ति प्रक्रियाका विषय कार्यन्वयन गर्नुपर्नेमा दलहरुबीच एकमत रहेको’ बताए।

दलहरुको वैठकले शान्ति प्रक्रियाका सवालमा लडाकुहरुको पुर्नवर्गीकरण कार्य सम्पन्न भएपनि त्यसपछिको प्रक्रिया कार्यन्वयनका लागि सरकार उदासिन वनेको निष्कर्ष निकालेको छ। ‘(दलहरुबीच भएको सहमतिअनुसार) लडाकुहरुको पुर्नवर्गीकरणको प्रक्रिया पुरा भएपनि स्वेच्छिक अवकाशमा जाने भनेर तोकिएका लडाकुहरु कहिले जाने भन्नेमा अन्यौल देखिएको छ। सरकारले यसमा काम गरिरहेको छैन,’ खनालले भने, ‘पुर्नस्थापनामा जाने लडाकुहरुलाई कहिले पठाउने निश्चित भएको छैन। विशेष समितिमा यी काम अघि वढ्न सकेको छैन।’

समायोजनमा जाने लडाकुहरुका विषयमा सरकारले ठोस कदम चाल्न नसकेको बताउँदै खनालले भने, ‘यसले गर्दा शान्ति प्रक्रिया संकटमा परेको छ। यो संकटमा परेको सन्दर्भमा सबै राजनीतिक दलहरुसँग परामर्श गरी एउटा निकास निकाल्नुपर्छ भन्ने उद्देश्यले छलफल प्रारम्भ गरेका हौं।’

कांग्रेस नेता पौडेलका अनुसार काग्रेस र एमाले शान्ति प्रक्रियाका मुल मुद्दामा साना दलसँग पनि सहमति गरेर अघि वढन तयार छन्। त्यसका लागि छलफललाई सोमबार पनि निरन्तरता दिने पौडेलले बताए। मधेशी मोर्चासहित सबै राजनीतिक दलहरुसँग वार्ता गरेपछि माओवादीसँग पनि छलफल गर्ने उनले बताए। ‘शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्ने हो। मुलुकलाई शान्ति र लोकतन्त्र चाहिएको छ, अनि संविधान बनाउनु परेको छ। त्यसका लागि हामी माओवादीसँग पनि वार्ता गर्छौ,’ उनले भने।

वैठकमा काग्रेस र एमालेका साथै राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा संयुक्त, माले समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल परिवार दल, समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल, सद्भावना आनन्ददेवी (गुप्ता समुह) र दलित जनजाति पार्टी सहभागी थिए।