चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमण दुई पक्षीय सहयोगका ८ वटा समझदारी पत्रमा हस्ताक्षर गर्दै सम्पन्न

सुरेन्द्र पौडेल –  दुई पक्षीय सहयोगका ८ वटा समझदारी पत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री वेन जियाबाओ नेतृत्वको चिनिया प्रतिनिधिमण्डल विदा भएको छ। प्रधानमन्त्री बाबुराम भट्टराईले विमानस्थल पुगेरै विश्वको चौथो शक्तिशाली राष्ट्रका सरकार प्रमुखको स्वागत तथा विदाइ गरेका छन्।

पाँच घण्टे अत्यन्त व्यस्त काठमाडौं बसाइको अन्तिम समयमा उनले राष्ट्रपति रामवरण यादवसँग भेटघाट गरे। सिंहदरबारको दिवा भोज सकेर जियाबाओ शीतल निवास पुगेका जियाबाओले राष्ट्रपति रामवरण यादवसँग १५ मिनेटभन्दा बढी समय बिताएका थिए।

चिनिया प्रधानमन्त्रीको भ्रमण अवसरमा भएका सम्झौताअनुसार भौतिक पूर्वाधार विकासका लागि चीनले नेपाललाई ७५ करोड अमेरिकी डलर अनुदान दिनेछ।


यसका अतिरिक्त चिनियाँ प्रधानमन्त्री जियाबाओले दिवा भोजका अवसरमा नेपाली पक्षलाई शान्ति प्रक्रियालाई सहयोग गर्न थप दुई करोड डलर सहित यो वर्ष नेपाललाई प्रदान गर्ने बजेटरी सहयोग २० करोड अमेरिकी डलर पुर्‍याउने आश्वसन दिएका छन्।


सुरक्षा व्यवस्था कडा
जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री वेन जिआबाओ काठमाडौं रहँदा उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सिंहदरबारसम्मको सडकमा सार्वजनिक यातायात आवतजावतमा रोक लगाइएको थियो। सडकमा आवतजावत गर्ने पैदलयात्रुको पनि सुरक्षा जाँच गरिएको थियो।


जियाबाओको सवारी हुने सडकमा २ सय मिटरको दूरीमा प्रहरी परिचालन गरिएको थियो भने चोक चोकमा जनपथ प्रहरी तथा सशस्त्र प्रहरी परिचालित थिए। सिंहदरबारदेखि राष्ट्रपति कार्यालय शीतलनिवाससम्मको सडकमा पनि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको थियो।


प्रधानमन्त्री जिआबाओको भ्रमणका बेला तिब्बती शरणार्थीले प्रदर्शन गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सुरक्षा कडा पारिएको हो।


एक घण्टा विमानस्थल ठप्प
चिनयाँ प्रधानमन्त्री सवार चाइना एयरको विमान काठमाडौं विमानस्थलमा प्रस्थान गर्नु एक घण्टा अगाडिदेखि नै त्रिभुवन विमानस्थलबाट उड्ने-अवतरण गर्ने आन्तरिक तथा अन्तरार्ष्ट्रिय उडान रद्द गराइएको थियो। सुरक्षालाई ध्यानमा राख्दै एक घण्टा अगाडि नै विमानस्थलका अन्य उडान रद्द गरिएको हो। विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट जियाबाओ आउँदा समेत एक घण्टा अघिदेखि अन्य विमानहरुका उडान तथा अवतरणमा रोक लगाइएको थियो।

***
सिंहदरवारमा प्रधानमन्त्री बाबुराम भट्टराई र उनका चिनियाँ समकक्षी वेन जियाबाओबीच भइरहेको दुई पक्षीय बैठक सम्पन्न भएको छ। दुई देशका प्रधानमन्त्रीले बैठक सके लगत्तै प्रधानमन्त्री कार्यालयको वेलायती सभा कक्षमा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। जियाबाओ भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कङ्ग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सिंहदरबार पुगेका छन्। यसैगरी चिनियाँ प्रधानमन्त्रीको सम्मानमा प्रधानमन्त्री बाबुराम भट्टराईले सिंहदरबारमै दिवा भोज दिएका छन्।