सिरहा – मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले समय सीमाभित्र संविधान नबनाए र मधेसीको हित हुने संविधान नबनाए, मधेसीले आन्दोलन गरी आफैं संविधान घोषणा गर्ने चेतावनी दिए । संविधान बनाउन दुई महिनामात्र बाँकी रहे पनि हालसम्म संविधान निर्माण हुने छाँट नदेखिएकाले मेचीदेखि महाकालीसम्म आफूहरुले आन्दोलनको तयारी गरिसकेको अध्यक्ष यादवले बताए ।
सिरहा सदरमुकाममा बिहीबार आयोजित बलिदानी दिवसलाई संवोधन गर्दै अध्यक्ष यादवले वर्तमान सरकार मधेसी, दलित, आदिवासी, जनजाति विरोधी रहेकाले संविधान बनाउन नचाहेको आरोप लगाए । मुलुकमा संविधान जारी भए मधेसदेखि पहाडसम्म सबै अधिकार सम्पन्न हुने र सत्तामा सधैं बस्नेहरुको अधिकार कटौती हुने भएकाले कांग्रेस, कम्युनिष्टले संविधान बनाउन नचाहेको अध्यक्ष यादवले जिकिर गरे ।
मधेसको मुद्दा कमजोर पार्न शासक वर्गले षड्यन्त्र पूर्ण तरिकाले मधेसी मोर्चा गठन गरेको छ, अध्यक्ष यादवले भने, मधेसी मोर्चाले नै मधेसलाई टुक्रा गरी संघीय संरचना बनाउन खोजेको छ । मोर्चा मधेस विरोधी र सत्ता लिप्सामा डुबेकाले नै मधेसीलाई सेनामा सामूहिक प्रवेश गराउन नसकेको उनले दाबी गरे । १० वटा राजदूत, ७ वटा सचिव नियुक्तिमा एक जना पनि मधेसी नपर्नुले मोर्चाका मन्त्रीको सरकारमा कुनै हैसियत नभएको र मधेस विरोधी भएको प्रमाणित भएको टिप्पणी गरे । मोर्चाका मन्त्री भ्रष्टाचार गर्न मात्रै सरकारकमा बसेको उनले आरोप लगाए ।
वर्तमान सरकारले हालसम्म शान्ति, संविधान र मधेसीको अधिकार दिन नसकेकाले बर्खास्त गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने उनले जिकिर गरे ।
मधेसी मोर्चाका नेताहरुले मधेसी सहिदको नाममा सरकारले छुट्टयाएको करोडौं रकम हिनाभिना गरेकाले छानबिन गर्नु पर्ने माग गरे । कान्तिपुर



