राजनीतिक गतिरोध जटिल बन्दै गएपछि विपक्षी दलहरुद्धारा गम्भीर राजनीतिक दुर्घटनाको आशंका व्यक्त

राजनीतिक गतिरोध जटिल बन्दै गएपछि विपक्षी दलहरुले गम्भीर राजनीतिक दुर्घटनाको आशंका व्यक्त गरेका छन्।


नेपाली कांग्रेस र नेकपा एमाले तथा अन्य साना विपक्षी दलहरुको बैठकमा शान्ति र संविधान धरापमा पर्न लागेको भन्दै त्यस्तो शंका प्रकट गरिएको थियो।


त्यसका निम्ति माओवादी र उसको नेतृत्वको सरकार जिम्मेवार रहेको उनीहरुको आरोप छ।


चुलिएको घर झगडा माझ भएको माओवादी केन्द्रिय समिति बैठकपछि शान्ति प्रकृया र संविधान लेखनले फेरि गति लिने कतिपयको आशा थियो।


तर त्यो आशा विपरित राजनीति थप जटिल बन्दै गएको देखिन्छ।


कांग्रेस संसदीय दलको कार्यालयमा भएको विपक्षीहरुको बैठकपछि भूतपूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको टिप्पणीले त्यस्तै संकेत दियो।


उनले भने, “शान्ति प्रकृयामा प्रधानमन्त्रीको चासो छैन, संविधान लेखनमा भएका सहमतिबाट माओवादी पछि फर्किरहेको छ, त्यसैले मुलुक गम्भीर दुर्घटनामा जान लागेको हो कि।”

 

माओवादी अध्यक्ष प्रचण्डले जनविद्रोहमा जोड दिएका उपाध्यक्ष मोहन वैद्यसँग सहकार्य गरेपछि विपक्षीहरु झस्किएको देखिन्छ।

त्यसयता प्रधानमन्त्रीले सेना समायोजन विशेष समितिको बैठक नडाकेको र संवैधानिक समितिमा प्रचण्ड जान छाडेको भन्दै सरकार र माओवादीको नियतप्रति उनीहरु सशंकित बनेका हुन्।


विपक्षी दलहरुको बैठकपछि बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले भने, “माओवादी शान्ति सम्झौतापछिको अवस्थामा फर्किन लागेको जस्तो देखिन्छ, शान्ति र संविधान धरापमा पर्न लागेको शंका जन्मिएको छ।”


विद्रोहकालीन माओवादीको स्थानीय निकायले गरेको कामलाई वैधानिकता दिने सरकारको एउटा निर्णयपछि विपक्षीहरु झनै चिढिएका छन्।


त्यसबारे सरकारको जवाफ माग्दै उनीहरुले संसद बैठक लगातार चल्न नदिएपछि सभामुख सुवास नेम्वाङ्ले सरकारको ध्यानाकर्षण गराउनु परेको थियो।


विपक्षीहरु आफूहरुप्रति सशंकित बनिरहेका बेला माओवादी नेतृत्व भने आन्तरिक प्रशिक्षण लगायतका कार्यक्रममा व्यस्त देखिन्छ।