प्रमुख दलहरुबीच संविधान लेखनमा रहेका मतभेदमा आ आफ्ना अडान कायम राख्दै दुरी बढिरहेका बेला भएको भेटवार्ताले अबका दिनमा फेरि दलहरुबीचका कुराकानी बाक्लिने अनुमान गरिएको छ।
दुइ नेताहरुले ठप्प हुन पुगेको शान्ति प्रक्रिया र संविधान लेखनबारे कुराकानी गरेको बताइएको छ।
माओवादी अध्यक्ष प्रचण्डको विशेष टेलिफोन आग्रहमा शनिबार विहान उनको नयाँ निवास पुगेका एमाले नेता नेपालबीच एक्ला एक्लै कुराकानी भएको जानकारहरुले बताएका छन्।
दुइ शीर्ष नेताले ठप्प हुन पुगेको राजनीतिक वातावरणलाई अब कसरी गती दिने भन्ने विषयमा करिब एक घन्टा कुराकानी गरेको बताइएको छ।
माधव नेपालले शान्ति प्रक्रिया र संविधान लेखनलाई माओवादीले प्रतिबद्धता अनुरुप अगाडि नबढाएको र प्रचण्डले चाहिँ आफुलाई नेपाली कांग्रेस र एमालेले एक्ल्याउन खोजेको भन्ने गुनासो गरेका खबरहरु विभिन्न सन्चारमाध्यमबाट संप्रेषित भएको थियो।
दुवै नेताहरुले एकापसमा गरेका कुराकानी प्रत्यक्ष सार्वजनिक गरेका छैनन्।
खासगरी शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा माओवादीको अडानमा कांग्रेस एमालेको अस्वीकृतीपछि दलहरुबीच बढेको दुरीलाई लेनदेनको समय भनेर कतिपयले अर्थ्याउने गरेका छन्।
माओवादीका धेरै एजेन्डाहरुलाई आफुहरुले मानिसकेकाले अब लचक हुने ठाउँ नै नरहेको भन्दै कांग्रेस, एमाले नेताहरु यतिबेला कुनै पनि हालतमा माओवादी लाइनमा नजाने मानसिकतामा रहेको समेत ति पार्टीका नेताहरुले बताएका छन्।



