प्रमुख सत्तारुढ माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले ‘जनसत्ता’ निर्णयलाई वैद्यता निर्णय फिर्ता गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ताले जानकारी दिए । यसबारे औपचारिक निर्णय बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
‘जनसत्ता’ निर्णयलाई वैद्यता दिएकोमा मोर्चा सम्बद्ध दलहरु असन्तुष्ट थिए । विपक्षी कांग्रेस-एमालेले पनि निर्णयको विरोध गर्दै माओवादीसँग वार्तामासमेत नबस्ने घोषणा गरेका थिए ।
यसैबीच पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि पनि पुनर्विचार हुने गुप्ताले जानकारी दिए । अर्थतन्त्रको अवस्था र सर्वसाधारणको समस्यालाई ध्यानमा राखेर पुनर्विचार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा विद्यार्थी र युवा आन्दोलन चर्किएको छ । आन्दोलनमा सत्तारुढ माओवादीलगायतका दलसम्बद्ध युवा र विद्यार्थी पनि सहभागी छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईको आहृवानमा बुधबार साँझ बस्ने भनिए को तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको नयाँ निवास लाजिम्पाटमा तीन दलको बैठक बस्ने तयारी थियो । बैठक भालि बिहान ८ बजे बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । दुई दिनअघि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको निवासमा बसेको बैठकले सहमतिका लागि वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको थियो ।
शासकीय स्वरुपमा मुख्य दलहरुबीच विवाद हुँदा संविधान निर्माणको काम रोकिएको छ भने ‘जनसत्ता’ निर्णयलाई सरकारले वैद्यता दिएपछि दलहरुबीच सम्वाद पनि कम हुँदै गएको छ ।



