– लीलावल्लभ घिमिरे
विराटनगर – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी र एमालेले दुई-दुई पटक नेतृत्व गरिसकेकाले अब कांग्रेस नेतृत्वमा सहमतिको सरकार बन्न सक्ने बताएका छन् ।
माओवादीले ठूलो पार्टीको हैसियतले प्रधानमन्त्री पाउँदा उपाध्यक्ष बाबुराम भट्टराईले नै त्यसको नेतृत्व गर्ने वताउँदै अध्यक्ष दाहालले एमालेले पनि नेतृत्व गरी सकेको र आफूहरुले पनि सरकार चलाइसकेकाले कांग्रेस अग्रसर भए उसको नेतृत्वमा पनि राष्ट्रिय सरकार बन्न सक्ने बताए ।
‘हामी सवै बिषयमा छलफलका लागि खुल्ला छौ, चाँडै राष्ट्रिय सहमतिको सरकार बने र शान्ति प्रकृया पुरा गर्नु पर्छ,’ कोचिला राज्यसमितिको प्रशिक्षणमा उपाध्यक्ष मोहन वैद्य र भट्टराईसँगै आएका दाहालले भने । उनले सहमतिको राष्ट्रिय सरकार नबने सम्म शान्ति प्रकृया र संविधान लेखन कार्य पुरा नहुने बताए ।
‘राष्ट्रिय सरकार विना यी सवै काम सम्भव छैन्,’ दाहालले भने, ‘हुन्छ भने यही सरकारलाई राष्ट्रिय बनाउ नत्र विकल्प खोज्न पनि हामी तयार छौं ।’ उनले माओवादीको केन्द्रीय समितिले पनि राष्ट्रिय सरकारको विकल्प नरहेको निर्णय गरी सकेकाले यसका लागि कोही पनि वाधक बन्न नुहने र नवन्ने समेत वादी गरे ।
दाहालसँगै रहेका उपाध्यक्ष एवं प्रधानमन्त्री भट्टराईलेपनि आफू सुरु देखि नै सहमतिको राष्ट्रिय सरकारको पक्षमा रहेकाले त्यसको वाधक नवन्ने वताउँदै राष्ट्रिय सरकार गठनका लागि आफू जुन सुकै भुमिका निर्वाह गर्न समेत तयार रहेको वताए । शान्ति प्रकृयाका धेरै काम अघि बढेकाले तोकिएको समय शान्ति र संविधान लेखन कार्य पुरा हुनेमा आफु ढुक्क रहेको भट्टराईको भनाइ थियो ।
पार्टीका अर्का उपाध्यक्ष मोहन वैद्यले पार्टी भित्र देखिएका अहिलेका विवादको अन्त्य भएपनि नयाँ बिषय आउन सक्ने वताए । जिवित पार्टीमा यस्ता कुरा आइ रहने वताउँदै उनले पार्टीलाई नयाँ ढंगवाट अघि बढाउनु पर्ने वताए । सचिव सीपी गजुरेलले पार्टी फुटेको हेर्न चाहनेहरुका लागि फेरि एक पाट मुक्का दिन माओवादी सफल भएको भन्दै पार्टी भित्रका विवादको किनारा लागेको वताए ।
माओवादी भित्रको अन्तर लाइन संघर्षलाई मत्थर पार्ने उदेश्यले शुक्रबार यहाँ माओवादीका तीन वटा राज्य समिति सदस्य स्तरभन्दा माथिका कार्यकर्ताहरुलाई प्रशिक्षण राखिएको हो । प्रशिक्षण दिनका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई, मोहन वैद्य र सचिव सिपी गजुरेल आएका हुन् ।
माओवादीका कोचीला, लिम्बुवान र किराँत राज्य समिति सदस्य भन्दा माथिका पदाधिकारीहरु सहभागी हुने माओवादी मोरङका कावा इन्र्चाज गणेश उप्रेतीले वताए । प्रशिक्षणमा ५ सय भन्दा बढि सहभागी भएका छन् ।
पार्टीका तीनै जना नेताहरुले पार्टीमा देखिएको विदा अन्त्य भएको घोषणा गरी नयाँ ऊर्जाका साथ संगठनमा लाग्न आग्रह गर्ने स्रोतले वतायो । प्रशिक्षणमा किराँत राज्य समितिका इन्चार्ज गोपाल खम्बु, लिम्बुवानका इन्चार्ज धर्मचन्द्र लाउती र कोचिला राज्य समिति इन्चार्ज हरीवोल गजुरेल समेत सहभागी हुने छन् ।
माओवादी भित्र देखिएको त्रिपक्षीय अन्तर लाइन संर्घषको अन्त्य नभएपछि तीनै जना नेताहरु यसको ब्यवस्थापनमा लागेका हुन् । पार्टी भित्रको लाइन संर्घष ग्रामीण इलाका सम्म पुगेपछि पार्टी संगठन कमजोर हुँदै गएको जिल्लाका एक थरी नेताहरुको भनाइ छ । लाइन संघर्ष चर्किएपछि जिल्ला तहका नेताहरु विच बोलचाल नै बन्द हुने अवस्था पुगको थियो । केन्द्रमा भट्टराई समुहले दाहाल समुहसँग निकटता राखे पनि जिल्ला तहमा भने यी समुह बीच सम्बन्ध सुमजदुर हुन सकेको थिएन भने वैद्य समुह पहिला देखि नै चिडिएको छ ।
भुमिगत कालदेखि अन्तर लाइन संघर्षको चेपुवामा पर्दै आएका कार्यकर्ताहरु पछिल्लो विवादले निरास बन्न छन् ।
पार्टी भित्रको गुट वन्दीका कारण दुई बर्षदेखि मोओवादीको जिल्ला संगठन समितिको बैठक बस्न सकेको छैन् भने सवै काम र निर्णय १३ सदस्य जिल्ला पार्टी कार्यालयले गर्दै आएको छ । माओवादी मोरङको अहिले सम्म पहिलो अधिवेशन समेत हुन सकेको छैन् ।
यस अघि तीनै समुहका केन्द्रीय नेताहरुले छुट्ाछुटै प्रशिक्षण यस क्षेत्रमा गरिसकेका छन् । लामो समय पछि सवै पक्षलाई एकै स्थानमा राखेर तीनै जना नेताहरुले प्रशिक्षण दिन लागेका हुन् ।