काठमाडौ, – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल केही दिन यता बस्दै आएको लाजिम्पाट काठमाडौको घर भाडाको भएको स्पष्ट पारिएको छ । उक्त घर छोरा प्रकाशको नाममा किनेको हल्ला थियो ।
शनिबार दाहालका निजी सचिव समिर दाहालले प्रकाशित गरेको विज्ञप्तिमा सम्पूर्ण करसहित उक्त घरको मासिक १ लाख ३ हजार भाडामा लिएको उल्लेख छ ।
सुरक्षा र पार्किङका दृष्टिले घर उपयुक्त भए पनि बाहिर प्रचारमा आएजस्तो सम्भ्रान्त परिवारले प्रयोग गर्ने खालको नभएको विज्ञप्तिमा छ । राष्ट्रको संवेदनशील अवस्थामा सत्यतथ्य नबुझी जथाभावी प्रचार प्रसार गरी अध्यक्ष तथा पार्टीको छवी माथि नै षड्यन्त्र गर्न खोजिएको आरोप निजी सचिव दाहालको बिज्ञप्तीमा छ ।



