सरकारले ‘जनसत्ता’ निर्णय फिर्ता लिएकोमा आपत्ति जनाउँदै माओवादी मोहन वैद्य समूहद्धारा प्रधानमन्त्री भट्टराईको राजीनामा माग


 

– गंगा बीसी

 

काठमाडौं – सरकारले ‘जनसत्ता’ निर्णय फिर्ता लिएकोमा आपत्ति जनाउँदै माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग गरेका छन् ।

मन्त्रिपरिषद्ले जनसत्ताले गरेका घरजग्गा कारोबारको निर्णयलाई दिएको मान्यता फिर्ता लिएलगत्तै बिहीबार अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकमा वैद्य समूहले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । वैद्य पक्षीय सचिव सीपी गजुरेलले प्रधानमन्त्रीलाई फिर्ता बोलाउनुपर्ने माग राखेको जानकारी दिए । विवाद बढेपछि बैठक स्थगित भएको उनले जानकारी दिए ।

‘जनसत्ता’ निर्णय फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले संसद् बैठक लगातार अबरुद्ध गर्दै आएका थिए । बुधबार गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्रले ‘जनसत्ता’ निर्णय फिर्ता लिने प्रतिबद्धता जनाएका थिए ।

जनसत्ताले गरेका घरजग्गा कारोबारको निर्णयलाई दिएको मान्यतामा सरकारमै रहेका दलहरु पनि विभाजित थिए । मधेसी मोर्चाका दलहरुले निर्णयप्रति आपत्ति जनाउँदै आएका थिए । तर वैद्य समूहले निर्णयलाई ‘बाबुराम सरकारले गरेको पहिलो र एकमात्र राम्रो निर्णय’ भनी प्रशंसा गर्दै आएको थियो ।