नेपाः राष्ट्रिय पार्टीद्धारा सड्क विस्तारको नाममा डोजर आतङ्क ७ दिनभित्र बन्द नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

काठमाडौ – नेपाः राष्ट्रिय पार्टीले सड्क विस्तारको नाममा राजधानीबासीको उठिबास लगाउने गरी सुरु गरिएको डोजर आतङ्क ७ दिनभित्र बन्द नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

नेपाः राष्ट्रि पार्टीले जनतालाई विस्थापित गराउने कालो सडक ऐनको मापदण्ड खारेजी गर्दै चालू डोजर आतङ्क बन्द नगरे सरकारलाई दिएको समर्थन फिर्ता गरि सडक संघर्षमा उत्रने चतावनी दिएको हो ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा गर्दै नेपाः राष्ट्रिय पार्टीले सडक विस्तारको नाममा गरिएको डोजर आतङ्क विरुद्धमा माओवादी पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाई सकेको जानकारी गराउँदै डोजर आतङक र हालसम्म भत्काइएका निजी सम्पत्तिको क्षतिपूर्ति दिने निर्णय तत्काल गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा नेपाः राष्ट्रिय पार्टीका सभासद् बुद्धरत्न मानन्धरले सरकार सुकुम्वासीलाई हुकुम्वासी र स्थानीय बासिन्दालाई सुकुम्बासी बनाउन लागिपरेको आरोप लगाए ।

डोजर आतंक संघर्ष समितिका सहसंयोजक दीपक केसीले उपत्यकाका ५ हजार स्थानीयवासी विस्तापित हुने र ऐतिहासिक सांस्कृतिक धरोहरहरू विनाश हुने दाबी गर्दै सरकारको विनासकारी कदमको विरुद्धमा सडक संघर्षमा उत्रने चेतावनी दिए । –कान्तिपुर