स्वेच्छिक अवकास रोजेका माओवादी लडाकूलाई चेक वितरणको काम कैलालीबाहेकका शिविरमा आज सकिँदै

स्वेच्छिक अवकास रोजेका माओवादी लडाकूलाई चेक वितरणको काम कैलालीबाहेकका शिविरमा आज सकिँदैछ ।

 

सातौ डिभिजन रहेको कैलाली क्षेत्रमा भने बन्दका कारण कर्मचारी जान नसकेकाले काम सकाउन गाह्रो पर्ने सचिवालय संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो । सेना समायोजन विशेष समिति अन्तर्गतको सचिवालयका अनुसार इलामस्थित पहिलो, नवलपरासीस्थित चौथो र सुर्खेतस्थित छैठौ डिभिजनमा चेक वितरण आज सकिने छ ।

 

हिजोसम्ममा सिन्धुलीस्थित दोस्रो, चितवनस्थित तेस्रो र रोल्पास्थित पाँचौ डिभिजनमा चेक वितरण सकिएको थियो । सचिवालय संयोजक शर्माका अनुसार मृत्यु भएका र केही विरामी बाहेक सबैजसो लडाकूले आफूले पाउने रकमको चेक बुझेका छन् ।

 

अवकाशमा जाने ७ हजार तीन सय ६५ लडाकु मध्ये ६ हजार ७ सयले शुक्रवार १० बजेसम्ममा आफुले पाउने रकमको पहिलो किस्तावापतको चेक बुझिसकेको संयोजक शर्माले जानकारी दिनुभयो । चेक बुझेका मध्ये ८० प्रतिशत लडाकुले शिविर पनि छाडिसकेको उहाँले बताउनुभयो । कारणवस आउन नसकेका लडाकुलाई काठमाडौंमै चेक वितरण गरिने उहाँले जानकारी दिनुभयो ।