जनसत्ताले गरेको घरजग्गाको कारोबारलाई वैधता दिने निर्णय फिर्तासँगै उत्पन्न विवादबारे छलफल गर्न एकीकृत माओवादीको स्थायी समितिको बैठकमा आज छलफल भयो ।
पार्टी कार्यालय कोटेश्वरमा भएको बैठकमा सरकारको पछिल्लो निर्णय तथा प्रधानमन्त्रीको राजिनामाको विषयमा वैद्य पक्षले चर्को अडान राखेका थिए । सरकारको नेतृत्वबाट भट्टराईलाई फिर्ता बोलाउनेबारे अरु दलसँग छलफल गरी टुंगोमा पुग्ने गरी आजको बैठक सकिएको छ ।
सत्ताघटक मधेशवादी र अरु दलसँग छलफल गरी राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने र भोलि फेरि बैठक गर्ने निर्णय गरिएको छ । जनसत्ता सम्बन्धि निर्णय फिर्ता लिएकोमा क्रुद्ध वैद्य पक्षले हिजै स्थायी समितिमा प्रधानमन्त्री भटराइको राजिनामा मागेको थियो ।
विपक्षीको दबाबपछि प्रधानमन्त्रीले जनसत्तासम्बन्धि यसअघिको निर्णय फिर्ता लिनुपरेको थियो । तर वैद्य पक्षले भने प्रधानमन्त्रीले जमिनदारका अगाडि आत्मसमर्पण गरेको आरोप लगाएको छ ।