भद्रपुर । इलामको चुलाचुलीस्थित प्रथम डिभिजनका स्वैच्छिक अवकाश रोजेका लडाकुहरूले परिचयपत्र र चेक खोसेको विरोधमा आइतवार झापाको दमकमा दुई घन्टा चक्काजाम गरेका छन् ।
मध्याह्न १२:०० बजे सुरु भएको चक्काजाम करिब २:०० बजे शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । स्वैच्छिक अवकाश रोजेका ३३१ जना लडाकुको कमाण्डरले चेक खोसेको परिचयपत्र र चेक फिर्ता हुनुपर्ने माग गरेका छन् ।
उक्त शिविरबाट स्वेच्छिक अवकाश रोजेका ७२१ जनामध्येबाट ७०१ जनाले चेक बुझेका थिए । खोसिएका चेक र परिचयपत्र आइतवार साँझसम्ममा फिर्ता नभएमा आगामी दिनमा चक्काजाम र बजार बन्द गर्ने घोषणा गरेका छन् । लगातार दुई घन्टा यातायात सेवा ठप्प हुँदा यात्रुलाई सास्ती भोग्नुपरेको थियो ।



