माओवादीको वैद्य समूहले मालपोत कार्यालयमा ताला बन्द

– घनश्याम खड्का

 

म्याग्दी – सरकारले जनसत्ताले गरेका जग्गापासलाई मान्यता दिने निर्णय फिर्ता लिएको विरोधमा सत्तारुढ माओवादीको वैद्य समूहले छिमेकी जिल्ला बागलुङको मालपोत कार्यालयमा ताला बन्द गरेको छ ।

माओवादीका पोलिटब्युरो सदस्य एवं मगरात राज्य समितिका सह-इन्चार्ज लिलाबहादुर थापाको नेतृत्वमा गएका माओवादी कार्यकर्ताले कर्मचारीलाई बाहिर निकाली मूल ढोकामा ताला बन्द गरेका थिए । धौलागिरीको म्याग्दी, बागलुङमा माओवादी भित्रको हाडलाइनर वैद्य समूहको बाहुल्य छ । माओवादीले दिउँसोदेखि कार्यालयमा ताला बन्द गरिदिएपछि कर्मचारी दिनभर चौरमा बसेको र सेवाग्राही फर्केको मालपोत कार्यालयले जनाएको छ ।

कुनै पूर्वजानकारी विना दिउँसो २ बजे कार्यकक्षमा प्रवेश गरी म समेत सबै कर्मचारीलाई बाहिर निकालेपछि मेरो कार्यकक्ष र कार्यालयको मूल गेटमा ताला लगाए । हामी चौरमा बसेर दिन काट्यौं, सेवाग्राही फर्केकाले काम भएन मालपोत अधिकृत नारायण पाण्ड्यले बताए ।

मालपोत कार्यालयमा दिउासो २ बजे प्रवेश गरेका माओवादी कार्याकर्ताहरुले लगाएको ताला दिउासो ३ बजे प्रहरीले तोडेको थियो । प्रहरीको सहयोगमा ताला तोडिएपनि त्रासमा अन्दाजी ५० जना सेवाग्राही विना काम फर्केका थिए ।

सरकारले प्रतिपक्षीको प्रभावमा सामान्तवादको पक्षपोषण गरेको भन्दै वैद्य समूहका माओवादी कार्यकर्ताले मालपोत कार्यालयमा ताला लगाएका हुन् ।