प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा सडकमा कराउँदैमा र चिल्लाउँदैमा आफूले सरकारबाट राजीनामा नदिने स्पष्ट

Click on the slide!– सन्तोष पोखरेल

 

 पोखरा – प्रधानमन्त्री बाबुराम भट्टराईले सडकमा कराउँदैमा र चिल्लाउँदैमा आफूले सरकारबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। उनले शान्ति र संविधानविरोधीले मात्र आफ्नो राजीनामा मागेको बताए।

 

जनयुद्ध दिवसलाई सम्बोधन गर्न सोमबार यहाँ आएका प्रधान्मन्त्री भट्टराईले कसैको दबाबले आफूले सरकार नछाड्ने बताए। ‘म कसैको दबाब र धम्कीले सरकार छाड्दिन, शान्ति र संविधान पूरा नहुन्जेल राजीनामा दिने कुरै आउँदैन’ उनले भने, ‘शान्ति र संविधानविरोधीले मात्र मेरो राजीनामा मागिरहेका छन्।’

कुनै पनि तागतले आफूलाई सरकारबाट हटाउन नसक्ने उनले बताए। ‘जति कराए र चिल्लाए पनि जनतालाई चाहिएको शान्ति र संविधानको जिम्मेवारी पूरा नगरी म पछि हट्दिन’ प्रधानमन्त्री भट्टराईले भने, ‘जनताका सपना अझै पूरा भएका छैनन्, ती सपना पूरा गर्ने जिम्मा अहिलेको सरकारको हो।’

उनले कांग्रेस र एमालेले पनि आफ्नो राजीनामा नमागेको बताए। ‘कांग्रेस र एमालेले समेत राजीनामा मागेका छैनन्, उनीहरुलाई राष्ट्रिय सरकारमा ल्याउने पहल पनि भइरहेको छ’ उनले भने, ‘त्यसैले जसले राजीनामा माग्छ, त्यो शान्ति र संविधानको विरोधी हो।’

शान्ति र संविधानको ग्यारेन्टी लिएर सरकारको नेतृत्वको विकल्प दिए कुर्सी छाड्न आफू तयार रहेको प्रधानमन्त्री भट्टराईले बताए। ‘शान्ति र संविधान पूरा गर्ने ग्यारेन्टीसहित तथ्यसंगत कार्ययोजनासहित कोही आएमा म सरकारमा बस्दिन’ उनले भने, ‘मलाई कुर्सीमोह छैन, तर त्यसको ग्यारेन्टी हुनुपर्‍यो।’