पूर्वमन्त्री श्यामसुन्दर गुप्तालगायत अन्य छजना अभियुक्तविरुद्ध अदालतमा थुनछेकको बहस सुरु

काठमाडौ – व्यापारी पवनकुमार सङ्घाइको अपहरण गरी फिरौती लिएको अभियोग लागेका पूर्वमन्त्री श्यामसुन्दर गुप्तालगायत अन्य छजना अभियुक्तविरुद्ध बुधबारदेखि काठमाडौँ जिल्ला अदालतमा थुनछेकको बहस सुरु भएको छ ।

सो मुद्दामा अन्य अभियुक्तहरू काभ्रे बिर्ता देउरालीका आकाश लामा, मकवानपुर पदमपोखरीका जितबहादुर गोले, हेटौँडा नगरपालिकाका अमिर आचार्य, काठमाडौँ काभ्रेस्थली गाविसका किशोर पाण्डे र मण्डिखाटारका विष्णु लक्सम छन् ।

अतिरिक्त जिल्ला न्यायाधीश विष्णुप्रसाद कोइरालाको एकल इजलासमा सो बहस प्रारम्भ भएको काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार भरत लम्सालले जानकारी दिए ।

सो बहस सकिएपछि अभियुक्तलाई थुनामा वा तारेखमा राखेर साक्षी प्रमाण बुझ्नेलगायतका प्रक्रिया प्रारम्भ हुनेछ । करिब एक महिनाको अनुसन्धान र अभियुक्तहरूको बयानपछि काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले गत माघ २६ गते व्यक्ति अपहरण तथा शरीर बन्धकविरुद्धको मुद्दा दायर रहेको हो ।

पूर्वमन्त्री गुप्ताको निर्देशनमा अभियुक्तहरूले व्यापारी सङ्घाईलाई गत पुस ७ गते कमलादीबाट अपहरण गरेर काभ्रेमा पुर्याई तराई डिफेन्स आर्मीको नाममा रु पाँच करोड फिरौती मागेकोमा पुस २७ गते रु ८५ लाखमा लिएर अपहरणमुक्त गरेका थिए ।