निर्वाचन आयोगद्धारा पटक पटकका सूचनाका बाबजुद आम्दानी र खर्च विवरण नबुझाउने १८ वटा राजनीतिक दलहरुको दर्ता खारेज

– माओवादी सहितका दललाई सचेत गराएको निर्वाचन आयोगले आम्दानी र खर्चको विवरण नबुझाउने १८ वटा दलहरुको दर्ता खारेज गर्ने प्रक्रिया शुरु गरेको बताएको छ।

 

निर्वाचन आयोगले प्रचलित कानुन र पटक पटकका सूचनाका बाबजुद आम्दानी र खर्च विवरण नबुझाउने विभिन्न १८ वटा राजनीतिक दलहरुको दर्ता खारेज गर्ने प्रकिया शुरु गरेको बताएको छ।

शुक्रबार पत्रकार सम्मेलन गरेर आयोगले कानुनी प्रक्रिया पुरा नगरी आय व्यय विवरण बुझाउने ठूला दलहरुलाई अबदेखि त्यसो नगर्न सचेत मात्र गराउने निर्णय गरिएको जानकारी दियो।


आयोगका अनुसार कानुनी व्यवस्था र सूचनाहरुको बेवास्ता गरी तीन वर्ष भन्दा बढीको आय व्यय विवरण नबुझाएका १८ वटा दलहरुसँग सात दिने स्पष्टिकरण सोधिएको छ।


पार्टीहरुले बुझाएका खर्च विवरणको छानबीनपछि तयार पारिएको प्रतिवेदन सुनाउँदै आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले त्यस्तो जानकारी दिएका हुन्।