जेठ १४ गते नयाँ संविधान नआउने संवैधानिक समितिका सभापतिको दाबी


काठमाडौं  – संविधानसभा अन्तर्गतको संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले जेठ १४ गते नयाँ संविधान नआउने बताएका छन् ।

रिपोर्टर्स क्लबद्वारा आइतबार राजधानीमा आयोजित साक्षात्कारमा सभापति आचार्यले भने, ‘प्रमुख राजनीतिक दलहरुको गतिविधि यथास्थितिमै रहिरहने हो भने जेठ १४ गते संविधान जारी हुन सक्दैन ।’

आचार्यले शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, राज्यपुनर्संरचना, नागरिकताजस्ता प्रमुख विषयमा दलहरुबीच सहमति हुन नसकेको र दलहरुले संविधान निर्माणलाई भन्दा सत्ता स्वार्थलाई बढी ध्यान दिएकाले संविधान बन्न नसकेको दाबी गरे ।

‘जेठ १४ गते संविधान बन्न सकेन भने मुलुक ठूलो संकटमा फस्नेछ,’ आचार्यले भने, ‘त्यो संकटबाट प्रमुख तीनै दल दोषमुक्त हुन सक्दैनन् ।’ नेपाली जनताको संघर्षले प्राप्त परिणामलाई गुम्न नदिन पनि दलहरुले सत्ता स्वार्थलाई बिर्सी संविधान निर्माणलाई केन्द्रविन्दु बनाउनुपर्ने आचार्यको भनाइ थियो ।

प्रमुख दलका शीर्ष नेताहरु सम्मिलित संयुक्त राष्ट्रिय सरकार नबनेसम्म शान्तिप्रक्रिया र संविधान निष्कर्षमा पुग्न नसक्ने ठोकुवा पनि उनले गरे ।

आचार्यले राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवस जस्ता राष्ट्रिय पर्वहरु मनाउन छाडिएकोमा दुःख व्यक्त गर्दै उनले भने, ‘देखिहाल्नु भयो यो मुलुकमा राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवस । यो तपाईं, हामी कसैले नभई एक वर्गले नमनाएको हो । २००७ सालको जनक्रान्तिको जगमा नै २०४६, २०६२/६३ को उपलब्धि हासिल भएको हो । २००७ सालको प्रजातन्त्र त्यसपछिका सबै राजनीतिक उपलब्धिका माता पिता सबै हो, जननी हो । प्रजातन्त्र दिवसलाई नमान्नु आफ्नै बाबु आमालाई नमान्नु हो ।’