माओवादी पुष्पकमल दाहालद्धारा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मुख्य तीनदल बीच गहन छलफलको तयारी भइरहेको जानकारी

– सन्तोष पोखरेल

 

पोखरा – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मुख्य तीनदल बीच गहन छलफलको तयारी भइरहेको बताएका छन्।

उनले बिहीबार हुने तीन दलको बैठकमा राष्ट्रिय सहमतिको सरकार निर्माणको विषयले प्राथमिकता पाउने जानकारी दिए।

‘मुख्य राजनीतिक दलबिच बैठक हुन लागेकोले त्यसबेला संविधान, शान्ति प्रक्रिया र राष्ट्रिय सरकारको बारेमा गहन छलफल हुनेछ’ अखिल नेपाल लेखक संघका अध्यक्ष घनश्याम ढकालको स्मृतिमा बुधबार यहाँ आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष दाहालले भने, ‘नेपाली राजनीतिलाई टुंगोमा पुर्‍याउने हाम्रो मुख्य जिम्मा भएकोले हामी चिन्तित छौ।’


सबै दललाई आ-आफ्नो जिम्मेवारी बारे ज्ञात भएकोले संक्रमणकाल अन्त्य गर्ने र नयाँ अग्रगतिका निम्ति अघि बढ्ने तयारी भइरहेको उनको भनाई थियो। ‘नेपाललाई सकारात्मक ढंगाले अघि बढाउने जिम्मा हामी सबैको हो’ दाहालले भने।


अहिलेको संक्रमण काललाई सफलतापूर्वक सम्पन्न गर्नका लागि दलहरुबीच एकता जरुरी रहेको उनले बताए। दलहरुबीच एकता बिना नेपाली जनताले भविष्य उज्ज्वल बनाउन नसक्ने उनको भनाई थियो।


‘संक्रमण कालको बारेमा राजनीतिक दलहरुबीच ठूलो बहस भएकोले दलहरुबीच एकता खोजी भइरहेको छ’ दाहालले भने, ‘भावी पुस्ता र जनताको उज्ज्वल भविश्यका लागि दलहरुबीच एकता जरुरी छ। दलहरुबीच एकता नभई हुँदैन।’

संक्रमणकाल सफलतापूर्वक समापन गर्न नसके देश दुर्घटनामा पर्न सक्ने अध्यक्ष दाहालको भनाई थियो। ‘अहिलेको संक्रमणकाल सफलतापुवर्क समापन गर्न सके नेपालले ठुलो फड्को मार्न सक्छ र देश सुन्दर पनि बन्छ’ अध्यक्ष दाहालले भने, ‘यदि नसके देश ठूलो दुर्घटनामा पर्न सक्ने खतरामा छ। त्यसबेला नेपाली जनता भूमरीमा पर्ने र अप्ठेरो अवस्था आउन सक्छ।’


उनले केही साताभित्र शान्ति प्रक्रियाको टुंगो लाग्ने बताए। माओवादी लडाकुको पुर्नवर्गीकरण र स्वेच्छिक अवकासको काम सकिएकोले अबको छोटो समयभित्र शान्ति प्रक्रिया टुंगोमा पुग्न लागेको दाहालको दावी थियो।


‘माओवादी लडाकुको पुर्नवर्गीकरण र स्वेच्छिक अवकासको काम सकिएको र समायोजनको कार्यतालिका पनि अन्तिम चरणमा रहेकोले शान्ति प्रक्रिया टुंगो लाग्ने निश्चित भएको छ’ उनले भने ‘एकाध हप्ताको बीचमा टुंगोमा पुग्ने निश्चित छ।’ उनले संविधान जनताको भावना अनुसार बन्छ कि बन्दैन भन्ने चिन्ता रहेकोमा अब शंका गर्नु नपर्ने बताए।