माओवादी पुष्पकमल दाहाल र प्रधानमन्त्री भट्टराईद्धारा सेना समायोजनलाई तीव्रता दिने तयारी


 

काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईबीच सेना समायोजनलाई अन्तिम रूप दिनेबारे बुधबार छलफल भएको छ । समायोजनपछि बन्ने महानिर्देशनालयमा लडाकुलाई उच्चतम सम्मानजनक बनाउने विषयमा दुई नेताबीच छलफल भएको हो ।

माओवादी र कांग्रेसबीच समायोजनका विषयमा आन्तरिक रूपमा तीव्र छलफल भएकाले छिट्टै टुंग्याउन सकिने दुई नेताबीच कुराकानी भएको छ । दाहालले सेना समायोजनको विषय सहमतिको निकै नजिक पुगिसकेको कान्तिपुरसँग मंगलबार बताएका थिए ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सेना समायोजनका विषयमा सरकारले थप गृहकार्य गर्ने शीर्ष नेताबीच कुराकानी भएको जानकारी दिए । ‘सेना समायोजनका विषयमा सरकारले थप गृहकार्य गर्ने कुरा भएको छ,’ उनले भने, ‘सम्बन्धित पक्षसँग सरकारले गृहकार्य गर्नेछ ।’

माओवादीले सेनाले ल्याएको प्रस्ताव सकारात्मक भएको भन्दै लडाकुले पाउने माथिल्लो दर्जाबारे विभिन्न विकल्पमा छलफल गरेको छ । लडाकुलाई सेरेमोनियल वा अल्पकालीन बि्रगेडियर दिएर समायोजन अघि बढाउन माओवादी, कांग्रेस र एमाले शीर्ष नेताहरूमा अनौपचारिक छलफल भइरहेको छ । बालुवाटार स्रोतका अनुसार लडाकुलाई सेनाको वृत्ति विकासमा असर नपर्ने गरी कमान्डरलाई सेरामोनिय बि्रगेडियर दिन सकरात्मक देखिएको छ ।

दुई नेताबीच राष्ट्रिय सहमतिको सरकारबारे पनि कुराकानी भएको छ । सहमतीय सरकार गठनका लागि उपाध्यक्ष मोहन वैद्य पक्षले प्रधानमन्त्रीको राजीनामालाई मुख्य मुद्दा बनाइरहेका बेला अध्यक्ष दाहाल र भट्टराईबीच छलफल भएको हो । दाहाललाई भेट्न पार्टी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराई लाजिम्पाटस्थित उनको निवास पुगेका थिए । भेटमा दुई नेताबीच राष्ट्रिय सहमतिको सरकार गठनका लागि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

‘राष्ट्रिय सरकार गठन गर्ने विषयमा पनि कुराकानी भयो,’ प्रधानमन्त्रीका सल्लाहकार पौडेलले भने, ‘राजीनामा दिनुभन्दा मन्त्रिमण्डल पुनर्गठन गरी सहमति जुटाउने प्रयास भइहरको छ ।’

राष्ट्रिय सहमतिको सरकार गठनको विकल्प नभएको भन्दै उनले विकल्प तयार भएपछि मात्र राजीनामा दिने भट्टराईले बताइसकेका छन् । दाहालले उचित विकल्प तयार नभई राजीनामा दिनुभन्दा मन्त्रिमण्डल पुनर्गठन गर्ने आफ्नो जोड रहेको बताइसकेका छन् ।

सहमतीय सरकार गठनबारे टुंगो लगाउन बस्ने भनिएको स्थायी समिति बैठक समेत पटकपटक स्थगित हुँदै आएको छ ।

तीन दल बैठक आज

सेना समायोजन र संविधाधन निर्माणका विषयमा बिहीबार तीन दलको बैठक सिंहदरबारमा बस्दै छ । शान्ति मन्त्रालयमा अपराह्न बस्ने बैठकमा सेना समायोजन लगायत संविधानसभाको समयसीमाबारे छलफल हुनेछ ।

महानिर्देशनालयमा हाम्रो प्रतिनिधि हुनुपर्छः वैद्य

माओवादी उपाध्यक्ष मोहन वैद्यले सेना समायोजनपछि बन्ने महानिर्देशनालयमा लडाकुको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् । उनले सेना समायोजन र संविधान निर्माण सँगसँगै हुनुपर्ने पार्टी निर्णय भएको भन्दै दुवै प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

 

‘महानिर्देशनालयमा जनमुक्ति सेनाको प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले बुधबार कान्तिपुरसँग भने, ‘शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया सँगसँगै अघि बढाउनुपर्छ भन्ने पार्टी निर्णय हो ।’

 

उनले भट्टराईले राजीनामा दिने/नदिने विषयमा टिप्पणी गर्न चाहेनन् । ‘राष्ट्रिय सहमतिको प्रयास गर्ने पार्टीको निर्णय हो,’ उनले भने, ‘सरकारले राजीनामा दिने/नदिने विषयमा अहिले टिप्पणी नगरौं ।’

 

– कान्तिपुर