माओवादी प्रमुख पुष्पकमल दाहालद्धारा तीन साताभित्र लडाकु शिविर खाली गर्ने प्रतिबद्धता व्यक्त


 

काठमाडौं – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीन साताभित्र लडाकु शिविर खाली गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रमुख तीन दलका शीर्षनेताबीच आइतबार भएको बैठकमा अध्यक्ष दाहालले तीन साताभित्र लडाकुका अस्थायी शिविर खाली गर्ने प्रतिबद्धता गरेका हुन्।


‘हामी दुई/तीन सातामा सबै शिविर खाली गरी शान्ति प्रक्रिया टुंग्याउनतिर जान्छौं,’ दाहाललाई उद्धृत गर्दै बैठकमा सहभागी एमाले नेता भीम रावलले भने।


कांग्रेस र एमाले नेताले यसअघि माघ २९ गतेको सेना समायोजन विशेष समितिको बैठकले लडाकुका २८ मध्ये १४ शिविर बन्द गर्ने निर्णय कार्यान्वयनको प्रसंग उठाएपछि दाहालले तीन साताभित्र सबै शिविर खाली गर्ने प्रतिबद्धता गरेका हुन्।


‘विशेष समितिको बैठकले शिविर संख्या घटाउने निर्णय गरेको थियो। त्यो के भयो भनेर मैले नै प्रश्न गरेँ,’ रावलले भने, ‘त्यसपछि प्रचण्डजीले दुई/तीन साताभित्र सबै शिविर खाली गर्छांै भन्ने जवाफ दिनुभयो।’


कांग्रेस र एमाले नेताले भने विशेष समितिको बैठक नबोलाएको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईको आलोचना गरेका थिए। उनीहरूले समिति बैठक बोलाउन पनि प्रधानमन्त्रीसमक्ष माग गरेका थिए। ‘तपाईंहरू शिविर खाली गराउने कुरा त गर्नुहुन्छ, त्यसको छलफल गर्न विशेष समिति बैठक बोलाउनुहोस्,’ कांग्रेस र एमाले नेताहरूले भने। बैठकमा उपस्थित प्रधानमन्त्री भट्टराईले ‘विशेष समिति बैठक छिट्टै बोलाउने’ प्रतिबद्धता व्यक्त गरे।


बैठकमा यसअघि भएका छलफलका आधारमा शान्ति, संविधान र विभिन्न आयोग गठनका विषयमा नेताहरुले परिष्कृत गर्दै छुट्टाछुट्टै प्रस्ताव ल्याउने सहमति भएको छ। ती प्रस्तावमाथि फागुन १८ गतेको बैठकमा छलफल गरी साझा प्रस्ताव बनाउने विषयमा पनि नेताहरूबीच सहमति भएको छ।


यसअघि फागुन १२ गतेको शीर्षनेताको बैठकले माओवादी अध्यक्ष दाहाललाई शान्ति प्रक्रिया, कांग्रेसका सभापति सुशील कोइरालालाई आयोग गठनबारे र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई संविधान निर्माणमा देखा परेका विवाद निरुपण गर्नेबारे प्रस्ताव तयार गर्ने जिम्मेवारी दिएको थियो। यही जिम्मेवारीअनुसार नेताहरूले विस्तृत प्रस्ताव तयार पार्ने भएका छन्।


आइतबारको बैठकमा माओवादीवाट अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराई, कांग्रेसबाट सभापति कोइराला र महामन्त्री कृष्ण सिटौला सहभागी थिए भने एमालेबाट अध्यक्ष झलनाथ खनाल र नेता रावल उपस्थित थिए। एमाले नेता नेपाल भने उपत्यकाबाहिर रहेकाले बैठकमा उपस्थित थिएनन्।

नागरिक