राजधानीमा बिद्रोही हमलापछि सुरक्षा प्रणालीमा उच्च सतर्कता, घटना शान्ति संविधान विरोधी तत्त्वले गराएको प्रधानमन्त्री भट्टराईको भनाई


 

– कृष्ण आचार्य

 

गोरखा – राजधानीमा भएको बम विस्फोटको घटना शान्ति संविधानविरोधी तत्त्वले गराएको भन्दै जेठ १४ सम्म सरकार उच्च सुरक्षा सतर्कतामा रहेको प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।

माओवादीको सहिद सप्ताह अन्तर्गत सहिद परिवार सम्मान कार्यक्रममा लागि प्रधानमन्त्री मंगलबार गोरखा पुगेका हुन् । उनले उक्त घटना शान्ति र संविधानको प्रक्रिया बिथोल्न गरिएको कदम रहेको टिप्पणी गरे । ‘मुलुकमा शान्ति प्रक्रिया पूरा नहोस् भन्ने चाहना राख्नेहरूले गरिएको हर्कत हो,’ उनले भने, ‘जेठ १४ गते जति नजिकिन्छ । त्यतिनै यस्ता घट्ना हुने सम्भावना रहन्छन् । त्यसका लागि सरकार उच्च सुरक्षा सतर्कतामा छ ।’

उच्च सतर्कताका लागि मन्त्री परिषद् बैठकले विशेष निर्णय गरि सबै सुरक्षा प्रमुखलाई निर्देशन दिइसकेको उनले बताए । ‘जेठ १४ सम्म सुरक्षा दिनका लागि केही कसुर बाँकी राख्ने छैनौं,’ भट्टराईले सहिद परिवार सम्मनपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘सुरक्षाको उच्च सतर्कता संविधान जारी नभएसम्म निरन्तर रहने छ ।’ संविधान निर्माण र शान्ति प्रक्रियाको विषयमा भने फागुन मसान्त भित्रमा टुंगो लागिसक्ने दाबी गरे ।

त्यसका लागि सबै विषयवस्तु प्रमुख दलबीच विभाजन गरी दलका नेताहरुबीचमा जिम्मेवारी बाँडफाँड गरेर प्रस्ताव तयार पार्न लगाइसकेको बताए । ‘प्रस्ताव ल्याई छलफल गर्नका लागि प्रमुख दलका नेतालाई जिम्मेवारी दिइसकिएको छ । उनीहरुले १८ गते बिहान प्रस्ताव ल्याउनेछन् । नटुग्याउनजेल निरन्तर बैठक बसी यो महिनाभित्र विवादित सबै विषय टुंगोमा पुर्‍याउँछौ’ भट्टराईले भने ।

१८ गतेबाट बस्ने भनिएको बैठकले शान्ति संविधान र राष्ट्रिय सरकारको विषयमा प्याकेजमा सहमति जुटाइने भट्टराईले दाबी गरे । ‘सरकार बनाउने कुरामा चाहिँ माओवादीको नेतृत्व हुनुपर्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका छौ’ भट्टराईले भने, ‘शान्ति र संविधानको कार्यभार पूरा गर्न माओवादीको नेतृत्व चाहिन्छ भन्ने हाम्रो पुरानो अडान हो ।’