तीन दलका शीर्ष नेताहरुको जारी बैठकमा एकीकृत माओवादीले सेना समायोजन लगायतका विषयमा नयां सहमति गर्न कोसिस गरिरहेको तर विप्रक्षी नेपाली कांग्रेस र एमालेले भने विगतमा भएको सातबुँदे सहमतिबाट बाहिर जान नचाहेको बताइएको छ।
शुक्रबारदेखि चलिरहेको शीर्ष नेताहरुबीचको छलफल मुख्यगरी सेना समायोजन र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विषयमा केन्द्रित रहेपनि ती विषयहरुमा प्रगति हुन नसकेको सहभागी नेताहरुले बताए।
शीर्ष नेताहरुको बैठकमा कांग्रेस एमालेले गत कात्तिकमा तीन दलबीच गरिएको सातबुँदे सहमतिको अक्षरश: कार्यान्वयनमा जोड दिइरहेको बताइएको छ।
माओवादीले चाहिँ आफ्ना लडाकु र पार्टी भित्रको असन्तुष्टि दर्शाउँदै कांग्रेस, एमालेसँग सातबुँदेमा उल्लेख भए भन्दा थप राजनीतिक सहमतिका लागि आग्रह गरेको शनिबारको शीर्ष नेताहरुको बैठकमा सहभागी कांग्रेस नेता अर्जुन नर्सिंह केसीले बताए।
केसीले भने, “सातबुँदे सहमति सबैले खुशी राजीसित गरेका हौं, एकपटक गरेको सहमति अक्षरश पालना गरौं भन्ने हाम्रो आग्रह र अडान दुबै हो।”
सातबुँदेमा लडाकुहरुलाई व्यक्तिगत योग्यताका आधारमा प्रचलित सैन्य नियमका आधारमा समायोजन गर्ने, सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउने लगायतका सहमति गरिएको थियो।



