माओवादीका बहिर्गमनमा परेका लडाकुहरुले आव्हान गरेको आमहड्तालका कारण मुलुकभर जनजीवन प्रभावित

काठमाडौ – माओवादीका बहिर्गमनमा परेका लडाकुहरुले आव्हान गरेको आमहड्तालका कारण मुलुकको विभिन्न भागको जनजीवन प्रभावित भएको छ । हेटौडामा बन्दकर्ताले केही सवारी साधन समेत तोडफोड गरेका छन । बन्दले चितवन समेत प्रभावित भएको छ ।

पाल्पामा बन्द भएपछि यस क्षेत्रकै जनजीवन प्रभावित बनाएको हो । पूर्व लडाकुहरुले स्वेच्छिक अवकासमा जानेहरुले जस्तै एकमुष्ट रकम र अन्य पेशागत माग राखेर बन्द आयोजना गरेका हुन् । बन्दका कारण शिक्षणसंस्था, कलकारखाना समेत बिहानैदेखि खुलेका छैनन् ।

धनकुटा- माओवादीको बहिर्गमनमा परेका पूर्व लडाकुले आव्हान गरेको अनिश्चितकालिन बन्दको आज दोस्रो दिन पनि कोसी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात चल्न सकेको छैन ।

अयोग्यको बिल्ला हटाइनु पर्ने, राज्यबाट उचित सम्मान र लडाकु सो सरह आर्थिक प्याकेज उपलब्ध गराइनु पर्ने, संयुक्त राष्ट्र संघीय शान्ति कोषबाट पुनस्र्थापनाको लागि उपलब्ध खर्च पारदर्शि गरिनु पर्ने लगायत माग राख्दै बन्द आव्हान गरेका हुन् । माग पुरा नहुन्जेल अनिश्चितकालिन बन्द जारी राखिने बहिर्गमन जनमुक्ति सेना संघर्ष समितिका केन्द्रीय सदस्य युगल राईले जानकारी दिए ।

बन्दका कारण धरान धनकुटाहुँदै पूर्वी पहाडी जिल्ला संखुवासभा, भोजपुर र तेह्रथुमतर्फ चल्ने सवारी साधन पनि ठप्प रहेको प्रहरीले जनाएको छ । बन्दले विभिन्न स्थानमा कयौं यात्रु अलपत्र परेका छन् भने शिक्षण संस्था, बजार, कलकारखाना समेत प्रभावित छन् । विद्यालय बन्द हुँदा नजिकिरहेको वाषिर्क परिक्षा समेत प्रभावित हुने भएको छ ।

बुटवल/बन्दका कारण पुर्वपश्चिम महेन्द्र तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा लामो तथा छोटो दुरीका कुनैपनि सवारीका साधन चलेका छैनन् । बन्दकर्ताहरु बिहानैदेखि बन्द गराउदै हिडेपछि भित्री तथा हुलाकी मार्गमासमेत सवारी ठप्प छन् । रुपन्देहीका प्रमुख बजार बुटवल, भैरहवा, मणीग्रामका बजार, शिक्षणसस्था, व्यापारिक प्रतिष्ठान, उद्योगधन्दा कलकारखाना लगायत कुनैपनि खुलेका छैनन् । अनमिनद्वारा बर्हिगमनमा परेका माओवादी लडाकुहरुले अयोग्य भन्ने शब्द हटाउनु पर्ने र आर्थिक प्याकेजसहित सहयोग गर्नुपर्ने लगायतका माग गर्दै अनिश्चितकालीन बन्दको आव्हान गरेको हो ।

बागलुङ/बन्दका कारण व्यपार व्यवसाय, यातायात र शैक्षिक संस्था समेत प्रभावित भएका हुन् । सोमवार विहानै देखि जवरजस्ती बन्द गराउँदै हिडेका दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मण केसी र पदम किसान रहेका छन् । सवारी साधनको चाबी खोस्ने तथा पसल बन्द गराउन खोजेकोले उनीहरुलाइ पक्राउ गरिएको प्रहरीले बतायो । बन्द गर्नेलाइ पक्राउ गरेपछि बजार क्षेत्रका केही पसल भने खुलेका छन् । व्यपार व्यवसाय संचालन गरेमा सबैलाइ सुरक्षा दिने प्रहरी नायव उपरिक्षक कृष्ण सिवकोटीले बताएका छन् ।

म्याग्दीमा समेत बन्दको प्रभाव परेको छ । यातायात, शिक्षण संस्थाहरु तथा बजार पुरै बन्द भएका छन् । प्रहरीले जवजस्र्ती बन्द गराउन हिंडेका अयोग्य लडाकुहरुतेजिन्द्र भनिने सोवियत केसी, ज्यामरुककोटका रेशम सापकोटा तथा राजकुमार क्षेत्री, निरज केसी र महादेव रिजाल माओवादी कार्यकर्ता समेत ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

अनमिनको छानविनमा अयोग्य ठहरिएका माओवादी लडाकु कार्यकर्ताले आहृवान गरेको बन्दलाई नैतिक समर्थन भन्दै माओवादीको बैद्य पक्षका कार्यकर्ताहरु चोक चोकमा बसेरका छन । – कान्तिपुर