– थिरलाल भुषाल
काठमाडौं – एमाले संसदीय दलको बैठकले सात बुँदे सम्झौतामा दायाँबायाँ नगरी सात दिनभित्र लडाकु समायोजनसम्बन्धी बाँकी काम सम्पन्न गर्न सरकारसँग माग गरेको छ। उसले सरकारले राजिनामा गरेर राष्ट्रिय सरकार निर्माणको वातावरण बनाउन पनि माग गरेको छ।
आफ्नो आयु लम्ब्याउन शान्ति प्रक्रियामा आलटाल गरिरहेकाले यो गैरजिम्मेवारपूर्ण कार्य भएको भन्दै बैठकले तत्काल राजिनामा दिन सरकारसँग माग गरेको हो। त्यसैगरी बैठकले आफ्नो पार्टी र अन्य पार्टीका शीर्ष नेतासँग राष्ट्रिय महत्वका विषयमा बाहेक अन्य कार्यक्रमका लागि राजधानीबाहिर नजान पनि आग्रह गरेको छ।
उसले संवैधानिक समिति, विशेष समितिलगायत् संविधान निर्माणसँग सम्बन्धित अन्य कार्यदलका सदस्यले संविधान निर्माणमा केन्द्रित हुनुपर्ने भन्दै यस्तो आग्रह गरेको हो। यसैगरी बैठकले संविधान निर्माणसँग प्रत्यक्ष संलग्न नेताहरु विदेश भ्रमण नजाने प्रस्ताव पनि पारित गरेको छ।