गोर्खा भर्तीलाई क्रमश: रोक्न सिफारिस गरेपनि सरकारद्धारा तत्काल नरोकिने स्पस्ट


 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले गोर्खा भर्तीलाई क्रमश: रोक्न सिफारिस गरेपनि त्यो तत्काल कार्यान्वयन हुने सम्भावना नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बदलिंदो परिस्थितिमा नेपालको अन्तर्राष्ट्रिय नीति नामक एक प्रतिवेदनमा अन्य धेरै विषयका साथै गोर्खा भर्ती बिस्तारै बन्द गर्नुपर्ने सुझाव दिइएको थियो।


लामो छलफल पछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले तयार पारेको उक्त प्रतिवेदनले वैकल्पिक व्यवस्था गरेर क्रमश: गोर्खा भर्ती बन्द गर्दा मुलुकको हितमा हुने जनाएको थियो।

 

समितिबाट सर्वसम्मत पारित उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाईएको थियो।

प्रधानमन्त्री कार्यालयले उक्त प्रतिवेदनलाई गृह र परराष्ट्र मन्त्रालयमा पठाएपछि सरकारले गोर्खा भर्ती बन्द गर्ने सिफारिस लागू गर्न निर्देशन दिएको भन्ने आशयका टिकाटिप्पणी भइरहँदा त्यस्तो कुनै योजना नभएको अधिकारीहरुले बताए।