काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली पुगेका एमाले अध्यक्ष झलनाथ खनालको ‘पोस्टेड ग्लाण्ड’ को शल्यक्रिया सोमबार हुने भएको छ । उनलाई मृगौलामा पत्थरीको समस्या पनि देखिएको छ ।
एमाले सचिव युवराज ज्ञावलीले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै खनाल अत्यन्त जरुरी स्वास्थ्य उपचारका लागी दिल्ली गएकाले त्यसलाई ‘राजनीतिक भ्रमण वा अन्य ढंगले’ प्रस्तुत नगर्न आग्रह गरेका छन् । खनाल दिल्ली जाने बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै आफूलाई लागेका रोगको बारेमा फर्केर जानकारी दिने बताएका थिए । उनको भ्रमण बारे विभिन्न टिका टिप्पणी हुन थालेपछि पार्टीले उनको स्वास्थ्य बारे प्रष्ट्याएको छ ।
खनालले चैत ९ गते इन्द्रप्रस्त एपोलो अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । उनको उपचारमा डा.अन्छुमान अग्रवाल संलग्न रहेको जारी विज्ञप्तीमा जनाइएको छ । खनाल आइतबार अस्पताल भर्ना हुने र सोमबार बिहान साढे ९ बजे उनको शल्यक्रिया गरिने कार्यक्रम रहेको छ । शल्यक्रियापछि ७२ घण्टाको आराम पश्चात १७ गते खनाल स्वदेश फर्किने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।



