विशेष समितिद्धारा अस्थायी शिविरहरु चैत ३० गते खाली गरी नेपाली सेना र सशस्त्र प्रहरी बललाई जिम्मा लगाउने निर्णय

काठमाडौ  – माओवादी लडाकुको रेखदेख, समायोजन तथा पुनःस्थापना विशेष समितिले अस्थायी शिविरहरु चैत ३० गते खाली गरी नेपाली सेना र सशस्त्र प्रहरी बललाई जिम्मा लगाउने निर्णय गरेको छ । लडाकु रहँदै आएका १५ मुख्य तथा सहायक शिविरमध्ये १२ शिविर सेनालाई र ३ शिविर सशस्त्र दिने निर्णय गरेको हो ।

आइतबार सिंहदरबारमा बसेको बैठकपछि शिविर खाली गराउने कार्यक्रम अन्तर्गत विशेष समिति सचिवालयका पदाधिकारीहरु मुख्य तथा सहायक शिविरमा पुगिसकेको जानकारी समितिका सदस्य तथा अर्थमन्त्री वर्षमान पुनले दिए ।


उनले विशेष समितिका पदाधिकारीहरु पनि चैत ३० गते मुख्य शिविरहरुमा पुग्ने कार्यक्रम तय भएको पनि बताए । स्वैक्षिक अवकास तथा पुनःस्थापनामा जाने लडाकुका लागि शान्ति मन्त्रालयले २ अर्ब बजेटको माग गरेको भए पनि सरकारले १ अर्बमात्र निकासा दिन सकेको र उक्त रकमको चेक मुख्य तथा सहायक शिविरमा पुगिसकेको पुनले बताए । – कान्तिपुर