संविधान निर्माणको मिति छोट्टएिकोले राजनीतिक दलहरु संविधान निर्माणको विधि छोट्याउन सहमत

काठमाडौ – संविधान निर्माणको निर्धारित जेठ १४ को मिति छोट्टएिकोले राजनीतिक दलहरु संविधान निर्माणको विधि छोट्याउन सहमत भएका छन् । दलहरुले अन्तरिम संविधानको धारा ७० लाई संशोधन गरेर अघि बढ्ने निर्णय गरेका छन् ।

निर्धारित कार्यतालिका र संवैधानिक व्यवस्था अनुसार अब बाँकी ४९ दिनको अवधिमा संविधान निर्माण हुन नसक्ने भएकाले दलहरु संविधान संशोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सोमबार बसेको सर्वदलीय बैठकले संविधान निर्माणको प्रक्रिया छोट्याउने निर्णय गरेको हो । धारा ७० मा विधेयक पारित गर्ने विधि बारे उल्लेख गरिएको छ ।

बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले अहिलेको कार्यतालिका अनुसार जेठ १४ भित्र संविधान ल्याउन समस्या पर्ने भएकाले छोटो बाटो तय गर्नका लागि संविधानको धारा ७० संशोधन गर्ने सहमति भएको बताए । सर्वदलीय बैठकको निर्णयलाई कानूनी मान्यता दिन व्यवस्थापिका संसदको कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्नुपर्ने छ । –  कान्तिपुर