काठमाडौ – वन तथा भूसंरक्षण राज्यमन्त्री लक्ष्मण महतोका स्वकीय सचिव नागेन्द्र यादव सोमबार धरौटी बुझाएर छुटेका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की र सदस्य न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सोमबार ५० हजार रुपैयाँ धरौटी लिई छाड्न आदेश दिएको थियो ।
रारा राष्ट्रिय निकुञ्जले अधिकरण गरेको ७७ घर परिवारको मुआब्जा उपलब्ध गराउने फाइललाई सदर गराउन राज्यमन्त्री महतोका स्वकीय सचिव यादवले ५० हजार रुपैयाँ घूस मागेका थिए । उक्त रकम लिनका लागि अनामनगरको पिस प्वाइन्ट रेस्टुरेन्टमा पुगेका यादवलाई फागुन १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले रंगेहात पक्राउ गरेका थिए ।
लामो अनुसन्धानपछि चैत २६ गते मात्र विशेष अदालतमा दायर भएको मुद्दामा सोमबार फैसला भएको हो । यादवले भने सापटी रकम फिर्ता लिएको बयान दिएका थिए । – कान्तिपुर



