काठमाडौं – प्रधान मन्त्री बाबुराम भट्टराईले मुलुक विध्वंसात्मकबाट रचनात्मकतातर्फ फर्केको बताउँदै आफ्नो कार्यकालमा यस्तो कार्यमा सहयोग गर्न पाएकामा खुशी लागेको बताएका छन्। उनले आफ्नो सरकार शान्ति र संविधान निर्माणका क्रममा पछाडि नफर्केको दाबी पनि गरे।
उनले अहिले मुलुक शान्ति प्रक्रियाको उत्कर्षमा पुगेको र यो पछि नहट्ने पनि बताए। उनले अब संविधान समयमै जारी हुने वातावरण बनेको पनि उल्लेख गरे । अनि भने- जसले यसमा बाधा खडा गर्छ, उसलाई जनताले कठघरामा उभ्याउने छन्।
दुवै सेना अब एकताबद्ध र अनुशासित भई अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरे। प्रधान मन्त्रीले राष्ट्रिय योजना आयोगबाट देशबासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन।
उनले अहिले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर आफूहरु अघि बढिरहेको पनि बताए। समाजमा मेलमिलाप कायम गराउनु, सत्य निरुपण आयोग गठन गर्नु र पीडितलाई राहत उपलब्ध गराउने काम बाँकी नै रहेको र त्यो प्रक्रिया सुरु पनि भइसकेको उनको भनाई छ।
नयाँ समावेशी विधेयकमार्फत् मधेसी मोर्चासँग भएको चार बुँदे सहमति कायम गर्ने, भूमि सुधार आयोगका प्रतिवेदनका आधारमा नयाँ कानुन निर्माण गर्ने, मुस्लिम आयोगमार्फत् उनीहरुको समस्या सम्बोधन गर्ने काम पनि भइरहेको उनले बताए।
शान्ति र संविधान निर्माणमा भाँजो हाल्नेलाई इतिहासले क्षमा दिँदैन भन्दै उनले सबै दलका नेतालाई संविधान निर्माणमा लाग्न पनि उनले अनुरोध गरे। उनले सङ्घीयताविनाको संविधान आउने बजारी हल्लालाई विश्वास नगर्न पनि आग्रह गरे। विश्वका सबैभन्दा बढी समावेशी संविधान ल्याउन खोजेको भन्दै उनले सबै जनताले अधिकार पाउन सक्ने साझा दस्तावेजका रुपमा संविधान आउने विश्वास पनि दिलाउन खोजे।
सेवा प्रवाहमा निश्पक्षता, उत्तरदायित्व र पारदर्शिता कायम गर्ने काम पनि भइरहेको उनले बताए। संवैधानिक निकायमा नियुक्ति गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको उनले बताए। त्यसैगरी सरकारी कार्यालयमा हुने ढिलासुस्ती हटाउन सम्बन्धित निकायहरुलाई सक्रिय बनाइएको पनि उनले बताए।
पुरानै सरकारको विरासतमा गठन भएकाले आफ्नो सरकारले चाहेर पनि नयाँ कार्यक्रम ल्याउन नसकेको बताउँदै उनले भने- बेरोजगारलाई कम्तिमा पनि वर्षमा १०० दिन काम गर्न पाउने वातावरण तयार भइरहेको छ। त्यसैगरी गरिबीको रेखामुनि रहेका नागरिक पहिचान गरी उनीहरुलाई अत्यावश्यक सामग्री राहत मूल्यमा उपलब्ध गराउने काम गरिबी निवारण कोषमार्फत् अघि बढाइएको पनि उनले दाबी गरे। – नागरिक