कार्यक्रमको प्रचारका लागि मात्रै १९ लाख ३० हजार खर्चिएको थियो । अभियानमा कुल २६ लाख ६ हजार खर्च भएको महानगरले जनाएको छ । महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले सरसफाइ तथा स्वयंसेवक कार्यक्रमको अन्तिम दिन बिहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक चोक, गल्ली, सडक लगायतबाट ४ सय टन फोहोर संकलन गरेको दाबी गरे । ‘फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा कार्यक्रमअनुकूल वातावरण सिर्जना भएको महसुस गर्छौं,’ उनले भने ।
महानगरले यसअघि दैनिक ४ सय ७५ टन फोहोर संकलन गर्दै आएको थियो । कार्यक्रमअन्तर्गत राजधानीका सडक तथा वाग्मती नदी सफाइ गरिएको थियो । कार्यक्रमका लागि खरिद गरिएका सामग्रीमा अनियमितता भएको भन्दै अख्तियारले छानबिनका लागि फाइल मगाएको छ । महानगरले बिहीबारको पत्रकार सम्मेलनमा खर्च भएको विवतरण पनि पेस गरेको छ ।
त्यसकारण एक दिन नदी किनारमा गएर प्रधानमन्त्रीले फोहोर संकलन गर्दैमा उपत्यकाको वातावरण सफा नहुने सरोकारवालाको भनाइ छ । अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिका अध्यक्ष महेशबहादुर बस्नेतले उपत्यकालाई सफा र स्वच्छ राख्न प्रधानमन्त्रीले नदी किनारको अतिक्रमण रोक्न साहस गर्नुपर्ने बताए ।
‘नदी किनार जम्मै सुकुम्बासीका नाममा अतिक्रमण भइसके, एक दिन प्रधानमन्त्रीले वाग्मतीमा सावेल चलाउँदैमा केही हुँदैन,’ उनले भने । सरसफाइका नाममा लाखौं रुपैयाँ खर्चनुभन्दा प्रधानमन्त्रीले सुकुम्बासीका नाममा बसेकालाई हटाउनमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो । ‘नत्र सस्तो प्रचारबाहेक केही पनि होइन,’ उनले भने । सरसरसफाइ अभियानका क्रमा समन्वयको कमी भएको उनको भनाइ थियो ।
सरसफाइ अभियानमा ‘एक घर एक स्वयंसेवक’ परिचालन गर्ने घोषणा गरिएको भए पनि स्थानीयवासीको खासै उत्साहजनक उपस्थिति रहेन । स्थानीयवासीले प्रचारमुखी र सस्तो लोकपि्रयता कमाउन सञ्चालन गरिएको टिप्पणी गरे । महानगरले एक लाख स्वयंसेवक परिचालन गर्ने घोषणा गरे पनि पचपन्न हजारको उपस्थिति रहेको उल्लेख गरेको छ । पूर्वमेयर केशव स्थापितले अभियानमा स्थानीय राजनीतिक दलका प्रतिनिधिको उपस्थिति नरहेको बताए । प्रधानमन्त्रीका पार्टीका केही कार्यकर्ता उपस्थिति हुँदैमा महानगर सफा नहुने उनको भनाइ थियो ।
अभियानमा लागेको खर्च
पञ्जा (सामान्य) ९ हजार जोर १२ रुपैयाँका दरले १ लाख ८ हजार रुपैयाँ
पञ्जा २१ हजार जोर ७ रुपैयाँका दरले १ लाख ४७ हजार रुपैयाँ
मास्क ३० हजार थान ८ रुपैयाँ ७० पैसाका दरले २ लख ६१ हजार रुपैयाँ
पर्चा/पम्प्लेट (सिंगल साइड) १ लाख प्रति ४० पैसाका दरले ४० हजार रुपैयाँ
पर्चा/पम्प्लेट (डबल साइड) १ लाख ५० हजार प्रति ८० पैसाका दरले १ लाख २० हजार रुपैयाँ
सूचना विज्ञापन १ लाख ५० हजारका दरले १९ लाख ३० हजार रुपैयाँ
जम्मा खर्च २६ लाख ६० हजार रुपैयाँ



