माओवादी लडाकू समायोजनमा बाँकी रहेका प्राविधिक विषयहरु टुंग्याउन विशेष समितिमा शनिबार नयाँ सातबुँदे सहमति गरिएको छ।
सहमतिमा महानिर्देशनालयको संरचना, छनौट समिति, तालीम अवधि लगायतका विषयमा स्पष्ट खाका रहेको बताइएको छ।
गत मंगलबार अकस्मात गरिएको माओवादी लडाकू र हतियार सेनालाई बुझाउने निर्णयपछि शनिबार बाँकी रहेका विषय टुंग्याउन शीर्ष नेताहरुको बैठक बसेको थियो।
शीर्ष नेताहरुले दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सेना समायोजन विशेष समिति अन्तर्गत बनेको कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन गरेका थिए।
साँझ विशेष समिति बैठक बसेर नयाँ सातबुँदे गरिएको थियो।
सातबुँदेका मुख्य बुँदाबारे विशेष समिति सदस्य भीम रावलले भने, “महानिर्देशनालयको अन्तिम नेतृत्व समायोजनमा जाने संख्या निश्चित भइसकेपछि निश्चित गर्ने, महानिर्देशनालय अन्तर्गत चारवटा निर्देशनालय, अधिकृतस्त र अन्यका लागि दुइटा छनौट समिति र ब्रीजीङ कोर्स सबैले तीन तीन महिना हुने निर्णय गरिएको छ।”
पछिल्लो सहमतिले लडाकु शिविरमा समायोजन कुरेर बसिरहेका लडाकुहरुबीच पछिल्लो समयमा उत्पन्न तनाव मत्थर पार्ने दावी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले गरे।
प्रधानमन्त्रीले प्रधानसेनापतिसँग पनि शनिबारै भेटघाट गरेका थिए।
आइतबार मन्त्रीपरिषदको बैठक बसेर आवश्यक प्रक्रिया अगाडि बढाउने बताइएको छ।





