माधव ढुङ्गेल, नागरिक
काठमाडौं – संविधान निर्माणसम्बन्धी विवादका बुँदामा सहमति खोज्न हात्तीवन रिसोर्ट आवसीय बैठक गरिरहेका शीर्ष नेता, मन्त्री तथा प्रधानमन्त्रीले राति सुत्नका लागि कोठा बुक गरेका छन्। रिसोर्ट स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति सुशील कोइराला कोठा नम्बर १० मा सुत्ने छन्।
हात्तीवन रिसोर्टको कोठा नं ७ र ८। फाइल तस्बिर संसदीय दलका नेता रामचन्द्र पौडेलका लागि कोठा नं.८ बुक गरिएको छ।
यसैगरी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका लागि कोठा नम्बर २६, पूर्वप्रधानमन्त्री माधव नेपालका लागि २४, बामदेव गौतमका लागि २५, केपी ओलीका लागि २३, सुरेन्द्र पाण्डेका लागि २१ र भीम रावलका लागि कोठा नम्बर २० बुक गरिएको छ। कोठा बुक गरिए पनि साढे ४ बजेसम्म एमाले नेता ओली रिसोर्ट आइपुगेका छैनन्।
प्रधानमन्त्री बाबुराम भट्टराई तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल बस्ने कोठा भने तय नभइसकेको रिसोर्ट स्रोतले बतायो। नेताहरुसँगै उनीहरुका स्वकिय सचिवहरुका लागि पनि कोठा बुक गरिएको छ। कांग्रेस सभापति कोइरालाका पीए लक्ष्मण ढकालका लागि कोठा नम्बर १५ र एमाले अध्यक्ष खनालका पिए रामबाबु अधिकारीका लागि कोठा नम्बर १४ बुक गरिएको छ।
नेताहरु आ-आफ्नो दलको बैठकमा
तीन दल, मधेसी मोर्चा सहितका शीर्ष नेता सहभागी बैठक ५ बजे केही समयलाई रोकिएको छ। ‘अहिले सबै पार्टीका आ-आफ्ना बैठक जारी छन्’, प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकिय सचिव विश्वदीप पाण्डेले जानकारी दिए- ‘पार्टी तहका बैठक सकिएपछि फेरि ३ दल र मधेसी मोर्चाको बैठक बस्नेछ।’
रिसोर्टमै रात बिताउने भएपछि प्रधानमन्त्री, मन्त्री तथा नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फर्काइएको छ। ‘भोलि ४ बजेसम्म बैठक बस्ने सम्भावना देखिएकाले सुरक्षाकर्मी फर्काइएको हो’, स्रोतले भन्यो।