संविधानका विवादित विषयमा सहमति खोज्न माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरूको ‘निर्णायक’ छलफल जारी


 

माधव ढुङ्गेल

 

काठमाडौं, वैशाख ४ -संविधानका विवादित विषयमा सहमति खोज्न ‘हात्तीवन हिमालय हाइट रिसोर्ट’ मै रात बिताएका नेताहरू सोमबार बिहानैदेखि छलफलमा जुटेका छन्। बिहान ८ बजेदेखि नै छलफल थालेका नेताहरूले ८ देखि १० बजेसम्म आफ्नै पार्टीभित्र र दुई-दुई दलबीच छलफलहरू गरेका।

 

रिसोर्टमै रहेका प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार, १० बजेदेखि प्रधानमन्त्री भट्टराईसहित चार शीर्षनेताहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र विजयकुमार गच्छदारबीच बैठक भएको छ। करिब १ बजे फेरि सबै दलको टोलीसहितको बैठक सुरु हुने कार्यक्रम रहेको उनले जानकारी दिए।

सोमबार साँझसम्म जसरी पनि सहमतिमा पुग्नुको कसैसँग पनि विकल्प नरहेको प्रधानमन्त्री भट्टराईले बताएको पनि उनले जानकारी दिए।



काठमाडौको सेतीदेवी गाविसमा रहेको रिसोर्टमा आइतबार राति माओवादीका तफर्पबाट मोहन बैद्य समूहका चार जनासहित ८, कांग्रेसका ८, एमालेका ७ र मधेश केन्द्रित दलका पाँच जना गरी जम्मा २८ जना नेताहरूले रात बिताएका छन्। उनीहरूले आइतबार मध्यरातसम्म छलफल गरेका थिए।